अनुभवले खारिएका मेकअप आर्टिष्ट श्याम

  • गीता अधिकारी

नेपाली कला क्षेत्रको समृद्धिका लागि धेरैले योगदान पु¥याइरहेका छन् । एउटा श्रव्यदृश्य सामग्री दर्शकसम्म आइपुग्दा त्यसमा फरक–फरक जनशक्तिको उत्तिकै मिहिनेत लागेको हुन्छ । पर्दामा आउने कलाकार र पर्दापछाडिका धेरै व्यक्तिहरुको मिहिनेतले नै एउटा राम्रो श्रव्यदृश्य सामग्री स्रोतामाझ आएको हुन्छ । नेपाली चलचित्र जतिजति समृद्धिको बाटोमा आफ्ना पाइला अगाडि चाल्दै छ, यो समयसम्म आइपुग्दा थुप्रै कलाकार, प्राविधक र अन्य सम्बन्धित व्यक्तित्वहरुको पसिना सिञ्चित भएको छ । ततत् सबैको श्रम पसिनाले नै यो क्षेत्रले आजको उचाई चुम्न सफल भएको हो भन्दा अतिशयोक्ति नहोला । अहिलेसम्म आउँदा थुप्रै व्यक्तित्वहरुले यस क्षेत्रमा लामो समयदेखि आफूलाई समर्पित गर्दै आएका छन् भने नयाँ कलाकार, प्राविधिक तथा अन्य जनशक्तिको यस क्षेत्रमा पढेर, बुझेर र रहरले होमिनेहरुको सङ्ख्या पनि त्यत्तिकै छ । नेपाली कला क्षेत्रको समृद्धिमा पर्दापछाडि बसेर निरन्तर लागिपरेका मेकअप आर्टिस्टमध्ये अग्रपङ्क्तीमा आउने नाम हो– श्याम बराल । एउटा सफल र अनुभवी मेकअप म्यान रहेका उनले आजको दिनसम्म आइपुग्दा नेपालका र नेपालबाहिरका थुप्रै कलाकारहरुलाई कुशलतापूर्वक सिँगार्ने काम गरेका छन् ।

आजको दिन चुम्नका लागि उनले यस क्षेत्रमा धेरै पसिना बगाएका छन् । फोटोग्राफर थिए पहिला श्याम । आफ्नै स्टुडियो थियो उनको । चलचित्र क्षेत्रमा रहरले आए उनी । तर, सजिलो थिएन । बिस्तारै उनले आफूलाई मेकअप आर्टिष्टका रुपमा यो क्षेत्रमा हेल्दै लगे । आफूलाई चलचित्रको मेकअप क्षेत्रमा होमेका उनले अहिलेसम्म आउँदा डेढ सयभन्दा बढी सिनेमा, दर्जनभन्दा बढी भिडियो फिल्म, तीन दर्जनभन्दा बढी म्युजिक भिडियो र दुई दर्जनभन्दा बढी विज्ञापनमा काम गरेका छन् । पछिल्लो उनले काम गरेको चलचित्र हो- ‘हेल्लो जिन्दगी’, जसको छायाँकन बेलायतमा भएको थियो । उनी त्यहाँ गएर आफ्नो क्रिएशन प्रस्तुत गरेर आएका छन् । यतिबेला उनले काम गरेको अर्को चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शन हुँदैछ, यही ३० गतेदेखि ।

२०४८ सालदेखि यो क्षेत्रमा रहेका उनको डेब्यु सोलो मेकअप भने २०५२ सालमा आएको चलचित्र ‘हत्या’ थियो । परेली, पराइघर, देश, लहना, दुई किनार, फूल, नाइँ न भन्नू लका सबै सिरिज, लभ स्टेसन, पूजा, छड्के, कुसुमे रुमाल, मुखौटा, राधा, जीवन मृत्यु, सुन्दर मेरो नाम, सडकजस्ता सयौं चलचित्र मार्फत् उनले धेरैलाई सिँगारेका छन् । आजको दिनसम्म आउँदा उनले लगभग सबै कलाकारसँग काम गरिसकेका छन्, अब उनलाई योसँग काम गर्नु पाए हुन्थ्यो भन्ने छैन । उनको अनुभवमा पहिलो जस्तो होइन, अहिले मेकअपको बारेमा नायिका पनि सचेत छन् । अन्य कलाकार पनि त्यत्तिकै सचेत छन् । ‘कुन मेकअप सुट भयो कुन मेकअप सुट भएन भनेर उहाँहरु आफैँले पनि भन्नु हुन्छ’ उनी भन्छन् । पहिलाभन्दा अहिले यो क्षेत्रमा पनि निकै राम्रो भएको श्यामको बुझाइ रहेको छ ।

मेकअप आर्टिस्टमा पछिल्लो समयमा पढेर पनि धेरै आएका छन् । यो क्षेत्रमा पारिश्रमिक पनि राम्रै छ । यो क्षेत्रमा लागेर राम्रै गरेको छु मैले । हामी विदेश जान्छौ आफ्नो घर परिवार छोडेर त्यो विदेशमा हुने कमाइ यहीँ नै हुन्छ । आफूले काम राम्रो दिनुपर्छ मिहिनेत गर्नुपर्छ, राम्रो हुन्छ भन्छन् उनी । अन्य मेकअप आर्टिस्टभन्दा अलिक महङ्गो छु भन्ने दाबी गर्ने श्याम ‘मैले राम्रो काम गर्छु, सस्तो-महङ्गो भन्ने कामको कुरा हो जस्तो लाग्छ’ भन्छन् ।

लामो समयदेखि यो क्षेत्रमा निरन्तर लागेका उनी आफूले सबै प्रकारको मेकअप गर्ने खुबी राख्ने दाबी गर्र्छन् । उनका अनुसार मेकअप टोन हेरेर हुन्छ, ¥याम्प मोडल मेकअप, फिल्मी मेकअप र अन्य मेकअप फरक–फरक प्रकारको हुन्छ । त्यस्तै, मेकअप क्यामेरा हेरेर पनि हुन्छ, क्यामेराअनुसार पनि मेकअप फरक–फरक हुन्छ । थुप्रै व्युटी कार्यक्रमहरुमा निर्णयकको भूमिकामा पनि देखिँदै आएका श्यामले केही चलचित्रबाट अवार्ड समेत चुमेका छन् । शृङ्गार सङ्घका अध्यक्षसमेत रहेका उनी यो संस्थालाई अलिक क्रियाशील बनाउन नसेको बताउँछन् । पछिल्लो समय पार्लरबाट आएकाहरुले प्रोफेसनल प्राविधिकलाई गाह्रो बनाएको बताउने उनी यसले गर्दा जुन मेकअप हुनुपर्ने हो, त्यस्तो नदेखिने बताउँछन् ।

श्याम लामो समयदेखि यो क्षेत्रमा भए पनि मिडियाबाट अलिक टाढा बस्ने गर्छन् । यो क्षेत्रमा आउन चाहनेहरुका लागि आफूले मिहिनेत गर्न सक्छु भनेर सिकेर आउनुहोस् भन्छन् । ‘राम्रो दिन सक्नुपर्छ, राम्रो छ भन्न चाहन्छु नयाँ आउनेहरुलाई’, उनी सल्लाह दिन्छन् । नेपाली कला क्षेत्रमा मेकअप आर्टिस्टका रुपमा उनले अझ बढी ईंट्टा थप्न सकून्, हाम्रो पनि शुभकामना ।

(मिलापको साउन अङ्कबाट)

यसमा तपाइको मत

अन्य समाचार