काठमाडौं,
साउन १९ ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘साइनो’ सेन्सर पास भएको छ । नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ लाई चलचित्र सेन्सर बोर्डले हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्ने ‘पिजी सर्टिफिकेट’ दिएको हो ।
निर्देशक रमेश थापाले पिजी सर्टिफिकेट पाएपनि चलचित्र सबै उमेरका दर्शकले ढुक्क भएर हेर्न सकिने बताए । उनले ‘साइनो’ मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको बताए ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन रहेको छ ।






