अविरल जनसाहित्य यात्राको ५९ औँ संस्करणमा सुनिए कवि जसराज किराती

काठमाडौं,
साउन १२ ।

‘मैले देवकोटाको कविताको कविता लेखेको थिएँ । त्यस बेलाका अञ्चलाधीश ज्याउल हकले भने, ‘ए ! यस्तो व्यवस्थाविरोधी कविता किन लेखेको ? जेलमा कोचिदिऊँ ?’ मैले भनेँ ‘जेलमा कोच्ने भए उही महाकवि देवकोटालाई कोच । मैले त उनको कविताको कविता कोरेको हुँ ।’ त्यसपछि ती अञ्चलाधीश चुप लागे । मरिसकेका देवकोटालाई उनले कता जेलमा कोचुन् !’ अविरल जनसाहित्य यात्राको ५९ औँ संस्करणमा एकल कविता वाचनको आरम्भ गर्दै कवि जसराज किरातीले पञ्चायतकालीन कालरात्रिको स्मरण गरे ।

जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा छ जना वाचन सहयोगी कविका साथमा कवि जसराज किरातीले जनसांस्कृतिक महासङ्घको व्यवस्थापनमा जन साहित्यिक मञ्च, नेपालद्वारा आयोजित शृङ्खलामा आफ्ना एक दर्जन कविता प्रस्तुत गरे । आफ्ना विगतका अनुभूति समेटिएका उनका कवितामा जीवन र प्रकृतिको तादाम्यता मिलेको अनुभूत गर्न सकिन्थ्यो ।

पूर्वी पहाडको खोटाङ जिल्लाको बुइपामा वि.सं.२००२ साउन १७ गते जन्मिएका जसराज किरातीले गाउँको स्कुलमा गुरुजी हुँदा गायन क्षेत्रमा लागेर सामाजिक रूपान्तरणको अभियान हाँकिरहेका रामेश र मञ्जुलसित भेट गर्ने अवसर पाएको उहाँहरूले सञ्चालन गर्नुभएको सांस्कृतिक अभियानमा सहकार्य गर्नपाएकोमा गौरव महसुस भएको थियो र आज मेरा कविताको समीक्षात्क टिप्पणीका लागि वरिष्ठ कवि मञ्जुल आइदिनुभएकोमा गौरवबोध भएको छ भन्ने अभिव्यक्तिका साथ आफ्ना छ ओटा सुन्दर कविता वाचन गरे भने अन्य छ जना सहयोगी कविले पनि उनका एक एकओटा कविता वाचन गरे ।
कार्यक्रममा कवि मञ्जुलले ‘सागरले किनारमा आएर थुक्छ’ भन्ने कवितात्मक शैलीमा भने, ‘जसराजका कविता चित्राकारले कोरेको चित्र जस्ता लाग्छन् । निर्माणकर्ताहरू पहिले निराश हुन्छन् अनि आशा जगाउन निर्माण गर्छन् । जसराज पनि त्यस्तै कवि हुन् । मैले उनीबाट धेरै सिकेको छु । उनका कवितामा पुस्किनका कवितामा जस्तो भूगोल आउँछ, नेपाली प्रकृति र नेपालीले बाँचेको यथार्थ जीवन बडो कलात्मक पाराले प्रतिविम्बित हुन्छ ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, ‘जन साहित्यिक मञ्चको यस ‘अविरल जनसाहित्य यात्राले ५९ औँ शृङ्खलासम्म निरन्तरता पाउनु नै प्रशंसनीय कार्य हो । कवितामा साँच्चैको तागत हुन्छ, अझ त्यसको वाचनकलाले यसको सशक्तता देखाउँछ । आजका कवि जसराज, आयोजक संस्थाका अध्यक्ष राम विनय (जो २०२५ सालतिर पूर्वको साहित्यिक गतिविधिमा सक्रिय थिए) र कविताका समीक्षक कवि मञ्जुल सबै ७० नाघेकाहरूबाट नयाँ पुस्ताको लागि आजको कार्यक्रमको विशेष अनुकरणीय एवम् सिकाइयुक्त हुने मैले विश्वास लिएको छु । आज कविता वाचनका लागि कविलाई सहयोग गर्ने सहयोगी कविहरू भुपाल राई, मोमिला, सुरेश हाचेकाली, विमला तुम्खेबा, स्वप्निल स्मृति र सुनिता खनाल नयाँ जोसजाँगरयुक्त युवाहरू हुनुहुन्छ । कवितामा व्यक्त निराशा र आशाको द्वन्द्वले जीवनको उज्यालो बाटोे उद्घाटन गर्न पाठहरूलाई उत्प्रेरित गर्ने छ र यही नै कविताको शक्ति हो भन्ने मैले ठानेको छु ।’

उक्त विशेष समारोहमा प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, जनसांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राई, महासचिव प्रेमनाथ अधिकारी, साहित्यकार सांसद विजय सुब्बा, साहित्यकार सांसद खेम नेपालीलगायतको उपस्थिति रहेको थियो । डा.विन्दु शर्माले संयोजन र सञ्चालन गरेको उक्त विशेष समारोहको व्यवस्थापन भने होमराज श्रेष्ठबाट भएको थियो । जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको समारोहमा अध्यक्षले कवि जसराज किरातीलाई खादा लगाएर स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार