सरोज खनालको फोटो नियोजित : चलचित्र विकास बोर्ड

काठमाडौं,
असार ३१ ।

राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहका दिन त्यहाँको अव्यवस्तालाई लिएर अभिनेता सरोज खनालले सार्वजनिक गरेको फोटोलाई चलचित्र विकास बोर्डले नियोजित भएको दावी गरेको छ ।

बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ।’

बोर्डले पुरस्कार वितरण समारोहमा सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र नृत्य प्रस्तुत गर्नुभन्दा आधा घण्टा अघि तयारीका लागि कलाकारहरु मञ्चको विमुख कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको दावी गरेको छ ।

‘शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ’, बोर्डले भनेको छ, ‘कार्यक्रम अवधिभर कुनै पनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ ।’

नृत्य सकिनासाथ सम्पूर्ण कलाकारले सभाहलमै बसेर कार्यक्रम हेरेको चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तर, सरोज खनाल र अभिनेत्री करिष्मा मानन्धरको स्टाटसमा फोटोसहित कमेन्ट गर्दै शितलनिवासमा त्यो नै आफ्नो पहिलो र अन्तिम प्रस्तुति भएको बताएका थिए ।

उनले अगाडि भनेका थिए, ‘सम्मानित हुने र सम्मान गर्ने सोफामा विराजमान थिए तर, हामी पर्फमर करिब ३५ जनालाई ८/१० को कोठामा कोचेर राखियो । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर पालो पर्खी बसेँ ।’

विज्ञप्तिमा पुरस्कार वितरणको कार्यक्रम बोर्डले आयोजना गरेको र शितल निवासले कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराएको दाबी गर्दै राष्ट्रपति कार्यालयको कार्यक्रममा अन्य कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ ।

सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारलाई कुनै कमीकमजोरी भएको भए बोर्डले क्षमा माग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

अन्य समाचार