काठमाडौं,
असार २२ ।
सुविन्द्र केसीको गीति एल्बम ‘आरोहण’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक साङ्गीतिक समारोहमा ‘आरोहण’ सार्वजनिक गरिएको हो ।
गीतकार दिनेश अधिकारी, गायक रामकृष्ण ढकाल, सङ्गीतकार राम सिटौलासहितका व्यक्तित्वले गायक केसीको स्वरमा रेकर्ड गरिएका आधुनिक शैलीका सात वटा गीतहरु समावेश गरिएको उक्त गीति एल्बम विमोचन गरेका हुन् ।
२०६९ सालमा पहिलो गीत रेकर्ड गराएर साङ्गीतिक क्षेत्रमा सक्रिय भएका गायक केसीले पछिल्लो समय सङ्गीतको प्रशिक्षणमै बिताएका छन् । आधा दर्जन साङ्गीतिक गुरुहरुसँग प्रशिक्षण लिइसकेका गायक केसी अहिले पनि सङ्गीतकार राम सिटौलासँग सङ्गीतको प्रशिक्षण लिइरहेका छन् ।
लोकप्रिय गायक रामकृष्ण ढकालका गीतहरु सुन्दै हुर्किएको बताउने गायक केसीको गायकीमा समेत गायक ढकालको झझल्को पाउन सकिन्छ । आफ्ना गीतहरुमा गायक रामकृष्ण ढकालको छाप पर्न नदिन शुक्रवार विमोचन गरिएको आफ्नो गीति एल्बम ‘आरोहण’ का गीतहरु रेकर्डिङ गर्ने अवधिमा गायक केसीले गायक ढकालका गीतहरु नै सुन्न छाडेका थिए ।
गायक केसीले आफ्नै प्रेरणाका स्रोत गायक रामकृष्ण ढकालसहित वरिष्ठ व्यक्तित्वको हातबाट आफ्नो साङ्गीतिक जीवनकै पहिलो एल्बम ‘आरोहण’ विमोचन गराएका हुन् ।
बिन्ध्यवासिनी म्युजिक प्रालिले उत्पादन तथा विक्री-वितरण गरेको गायक केसीको ‘आरोहण’ गीति एल्बमका एल्बमका गीतहरुमा अर्जुन पोखरेल, राम सिटौला, महेश खड्का, टिका भण्डारी, श्रीकृष्ण बम मल्ल तथा गायक स्वयंद्वारा सङ्गीतबद्ध गीतहरु समावेश गरिएका छन् । एल्बमका ती गीतहरुलाई बिपिन किरण, राम सिटौला, एकनारायण झण्डारी, डा.नवराज लम्साल, पुरुषोत्तम ढुंगेल तथा गायक केसीले रचना गरेका छन् ।
विमोचन समारोहमा एल्बममै समावेश गरिएको ‘उधारो वाचा…’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । विशाल भण्डारीद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री केकी अधिकारी तथा रञ्जित पौडेलले अभिनय गरेकी छिन् । उक्त गीतमा गायक केसीकै शब्द तथा सङ्गीत सुन्न सकिन्छ । किरण कँडेलले उक्त गीतमा सङ्गीत संयोजन गरेका छन् ।






