पोखरा,
असार १९ ।
गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । उनीसँगै विप्लव समूहका नेता पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।
बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरास्थिति नेकपाको गण्डकी प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा टीका लगाएर उनीहरुलाई नेकपा प्रवेश गराएका हुन् ।
मनाङ्गे मनाङ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद हुन् । प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा निर्वाचित भएका थिए ।
तर, फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उनले सर्वोच्चमा पुनरावेदन गरेपछि सर्वोच्च अदालतले उनलाई थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएको थियो ।
निर्वाचित भएको झण्डै नौ महिनापछि मनाङ्गेले गएको २४ माघमा सांसदको शपथ लिएका थिए । नेकपा प्रवेश गराउँदै मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गरेका छन् । चुनावमा मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदबार कर्म गुरुङलाई हराएका थिए ।






