‘सानो मन’को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार १० ।

यही असार २०गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘सानो मन’ को शिर्ष गीत सार्वजनिक भएको छ । निर्माण संस्था हाइटेक इन्टरटेनमेन्टको च्यानलबाट यो गीतको भिडियो रिलिज गरिएको हो । यसअघि सार्वजनिक यस चलचित्रको गीत ‘रानु कम्मर…’ले चर्चा बटुलिरहेका बेला अर्को गीत सार्वजनिक गरिएको हो ।

गीतमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको अभिनय छ । गीतमा शिल्पा र आयुष्मानको प्रेमको आरोह अवरोध देखाइएको छ । सुयोग सोताङको सङ्गीत रहेको यो गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द रहेको छ ।

सङ्गीतकार सोताङले भने, ‘गीत चल्तीको भन्दा अलिक फरक बनाएका छौँ, जसले नेपाली चलचित्रमा आइरहेका प्रेमगीतभन्दा फरक स्वाद दिन्छ ।’ चलचित्रका निर्देशक सुयोग गुरुङले गीत चलचित्रको कथासँग नजिक रहेको बताए । काठमाडौं, भैरहवा, बैंककलगायतका स्थानमा छायाँकन गरिएको यो चलचित्रका निर्मातामा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर रहेका छन् ।

https://www.youtube.com/watch?v=IViF_GvPZz8

सुयोग गुरुङको डेब्यु निर्देशन रहेको यस चलचित्रमा अभिनेता आयुष्मान, अभिनेत्री शिल्पा, अभिनेत्री गौरी मल्ल, सक्षम सुवेदी, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देवकुमार श्रेष्ठलगायतका कलाकारको अभिनय छ । ओपिजी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाइटेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र बनेको हो ।

सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लले छायाँकन गरेका छन् । म्युजिकल लभस्टोरी रहेको यस चलचित्रको ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार