यस वर्ष सगरमाथामा सबैभन्दा बढी आरोही

काठमाडौं,
असार ५ ।

यस वर्ष सगरमाथा सबैभन्दा बढी आरोहीले आरोहण गरेका छन् । पछिल्लो केही वर्ष यताकै सबैभन्दा बढी आरोहीहरुले यस वर्ष सगरमाथा आरोहण गरेका हुन् ।

पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुको समयमा गाइड सहित ६ सय ५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सगरमाथा आरोहण गर्ने अनुमति पाएका २ सय ८१ आरोही र उनीहरुका सहयोगी ३ सय ७८ गरी यस वर्ष ६ सय ५९ जनाले सगरमाथाको आरोहण गरेका हुन् ।

सगरमाथा आरोहण गर्ने ३ वर्षको आँकडा हेर्ने हो भने यो वर्षमात्रै अघिल्लो वर्षको भन्दा ३५ जनाबढी आरोहीहरुले सगरमाथा आरोहण गरेका छन् ।आरोहणका लागि ४४ आरोहण दलका ३ सय ८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६ सय ४२ जना (सरदार), गाइड र शेर्पासमेत गरेर जम्मा १ हजार २३ गएका थिए ।

आरोहणकै क्रममा सगरमाथा ८ जनाको मुत्यु भएको र एक जना हराइरहेको विभिन्न एजेन्सीको विवरणलाई उद्धृत गर्दै विभागले जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

पर्यटन ऐन २०३५ र पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अन्तर्गत सगरमाथा आरोहणका लागि यो वर्ष थप ३५ जना आरोहीहरुलाई अनुमति दिएको पर्यटन विभागले जनाएको छ ।

अधिक अनुमतिपत्र वितरण गरेकै कारण सगरमाथामा आरोही, सरदार गाइडको मृत्यु भएको हो भन्ने विषय वास्तविक नरहेको तथ्य तथ्याङ्कलेसमेत देखाएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार