काठमाडौं,
असार ३ ।
मजदुर हडतालका कारण होटल हायात अनिश्चितकालका लागि बन्द भएको छ । तारागाउँ रिजेन्सी होटल्सअन्तर्गत काठमाडौंको वौद्धमा सञ्चालित पाँचतारे होटल अनिश्चितकालका लागि बन्द गरिएको हो ।
गैरकानुनी हड्ताल र नारा जुलुसका कारण होटलका सम्पूर्ण सेवा र प्रशासनिक काम कारवाही समेत प्रभावित हुँदा होटल बन्द गर्नुपरेको दाबी व्यवस्थापनले गरेको छ । मजदुर युनियनले राखेका माग पूरा गर्ने अवस्थामा नरहेको भन्दै होटल व्यवस्थापनले होटल बुकिङ समेत बन्द गरिएको पनि जनाएको छ ।
होटलमा बस्दै आएका पाहुनालाई याक एण्ड यती होटलमा सारिएको छ । होटलमा कार्यरत १ देखि ४ तहसम्मका कामदार हड्तालमा उत्रिएका छन् ।
होटल सञ्चालक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्जलाई सोमबार पत्र लेखेर होटल अनिश्तिकालका लागि बन्द भएको जानकारी दिएको छ ।






