मोडलिङ मोह र सौन्दर्य प्रतियोगिता

– मिलाप डेस्क

नेपाली कलाकारिता क्षेत्र होस् या मोडलिङ, युवा पुस्ताको मोह निकै बढेको छ । यसैलाई लक्षित गरी विभिन्न सौन्दर्य प्रतियोगिता हुने गरेका छन् । ग्ल्यामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडि बढ्ने सोचका साथ धेरैले यो क्षेत्रमा आफ्ना पाइला बढाइरहेका छन् । रमाइलो गर्नेसँगै र चर्चामा आइने हुनाले धेरैको मोह यसतर्फ भएको हुन सक्छ । नेपालमा मोडलिङ क्षेत्रमा लाग्नेहरूको कमी छैन । मोडलिङकै ‘प्रमोसन’का लागि विभिन्न एजेन्सी खुलेका छन् । प्रतियोगिताहरू पनि देशका विभिन्न ठाउँमा सातापिच्छे हुन्छन् । प्रतियोगितामा भाग लिने पनि धेरै छन्  । तर, करिअरका लागि यस क्षेत्रमा प्रवेश गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गए पनि यस क्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् केहीले । मोडल एक व्यक्तिविशेष हो, जसले बजारमा प्रचार–प्रसार देखाउनका निम्ति विभिन्न व्यावसायिक विज्ञापनमा देखापर्छ । यसले पनि युवापुस्ताको मोडलिङ मोह बढ्दो छ ।

मोडलिङको अर्थ कुनै जनसमूहमा गरिने प्रदर्शन हो । फेसन, ग्ल्यामर, बिकिनी, शारीरिक कलाहरू मोडलिङमा पर्दछन् । मोडलहरू विभिन्न मिडियाहरूमा चित्रित हुन्छन् जस्तै– किताब, पत्रिका, चलचित्र, समाचारपत्र, म्युजिक भिडियो र टेलिभिजन । फेसन मोडलहरू कहिलेकाहीँ चलचित्रहरूमा देखा पर्छन् । हस्तीहरू जस्तै– अभिनेता, गायक, खेल हस्तीहरू र प्रस्तोताहरू पनि आफ्नो वास्तविक कार्यसँगै मोडलिङ अनुबन्ध गर्ने गरेका छन् ।

नेपालमा प्रजातन्त्रको पुनर्वहालीपछि यसले व्यापकता पाएको छ । नेपालमा वि.सं. २०५१ मा मिस नेपाल प्रतियोगिता सुरु भएसँगै सौन्दर्य प्रतियोगिताले व्यापकता पाएको हो । पछिल्लो समयमा खासगरी प्रजातन्त्रको पुनर्वहालीपछि नै यस्ता सुन्दरी प्रतियोगिताको लहर चल्न थालेको हो । मिस नेपालबाट सुरु भएको सुन्दरी प्रतियोगिता अहिले अनेक शीर्षकमा वर्षैभरि आयोजना भइरहन्छन् । सौन्दर्य प्रतियोगिता व्यक्तिको बौद्धिकता प्रतिभा र सुन्दरताको सङ्गम हो भनेर पनि भनिन्छ ।

काठमाडौंलगायत देशका विभिन्न शहरहरुमा मिस ग्यालेक्सी, मिस टिचर आइकन, नेपाल चवी मोडल, द सुपर मम, मिस व्युटिफुल, मिस हिमालय, हेण्डसम हङ्क, मिसेस नेपाल आइकन, मिस एण्ड मिस्टर टिन, मिस एण्ड मिस्टर कल्चर, मिस एण्ड मिस्टर पश्चिमाञ्चल, मिस एण्ड मिस्टर पूर्वाञ्चल, मिस लिटिल, मिस एण्ड मिस्टर पोखरा, मिसेज पोखरा, मिस लेखनाथ, मिस गण्डकी, सानो परी, हङकङ ब्युटी ट्यालेन्ट, मिस एसईई, मिस एन्ड मिस्टर कलेज, मिस एन्ड मिस्टर हस्पिटालिटी, मिस नर्स, मिस्टर एण्ड मिस प्लानेट, मिस भ्याली, मिस एभिएसन, फेस अफ दि नेसन, मिस नर्सलगायतका कुनै न कुनै नामका यस्ता प्रतियोगिता हप्तैपिछे भइरहेका हुन्छन् । यतिमात्र हैन, जातीय, क्षेत्रीय सुन्दरी प्रतियोगिताहरु पनि पछिल्लो समयमा उत्तिकै थपिएका छन् । मिस नेवाः, मिस मगर, मिस तमुस्यो, मिस तमु, मिस सुनार, मिस तामाङ, मिस थकाली, मिस क्षेत्री, मिस आर्य, मिस मंगोल, मिस लिम्बु, मिस पूर्वाञ्चललगायतका प्रतियोगिता पनि उत्तिकै हुने गर्दछन् । समग्र मुलुककै प्रतिनिधित्व हुने गरी गरिने मिस नेपालबाहेक विभिन्न प्रदेश, क्षेत्र, अञ्चल, जिल्ला, नगर टोल हुँदै आ–आफ्ना स्कुल, कलेजमा यस्ता प्रतियोगिताहरु प्रशस्तै हुने गरेको पाइन्छ । यसरी हप्तैपिच्छे किन यति धेरै विभिन्न नाममा सौन्र्दय प्रतियोगिता हुन्छन् त ? निश्चय नै आर्थिक फाइदा अर्थात् व्यवसाय भएको छ यो यतिबेला ।

यस्ता प्रतियोगितालाई अवसरको प्लेटफर्मका रुपमा उपयोग गर्र्ने प्रतियोगीहरुको ध्याउन्न हुन सक्छ । यस्ता प्रतियोगितामा बौद्धिकता, दक्षता र क्षमताको कुरा गरे पनि प्रतियोगीको शारीरिक रुपलाई नै आधार बनाइन्छ । आयोजकहरुले युवायुवतीमा रहेका प्रतिभा, क्षमता प्रस्फुटन गराउन सहायता गर्ने, उनीहरुका लागि आवश्यक प्लेटफर्म तयार गर्ने दाबी गर्दछन् । हुन त, आयोजकहरुले दाबी गरेझैं पब्लिक फिगर बन्न चाहनेहरुका लागि यो एउटा माध्यम पनि हुन सक्छ । तर, यसमा सहभागी सबै उत्कृष्ट हुन्छन्, सबैले राम्रो अवसर पाउँछन् भन्ने हुँदैन । उपाधी सँगसँगै अन्य आश्वासन दिने गरिन्छ जुन कसैले पनि पूरा गरेको पाइँदैन । कार्यक्रम सकिएपछि आ–आफ्नो बाटो लाग्छन् ।

मिस नेपालकै कुरा गर्ने हो भने पनि केही बाहेक अन्य मिस नेपालकै ताज जितेका कतिपय सुन्दरीहरुको अहिले चर्चासमेत हुँदैन । अहिलेसम्म मिस नेपालको ताज जित्ने २५ जनामध्ये कतिपय मिस नेपाल विजेताहरु नै कहाँ के गर्दैछन्, अत्तोपत्तो छैन । उनीहरु आ–आफ्नो कार्यक्षेत्रमा हुन सक्छन् तर आयोजकले दाबी गरेझैं सबै पब्लिक फिगर नै बन्छन् भन्नु गलत हुनेछ ।

हामीकहाँ हुने विभिन्न शीर्षकका सुन्दरी प्रतियोगितामा युवतीहरुले अपवादबाहेक आफ्नो क्षमता प्रस्तुत गरेको देखिन्न । उनीहरुले त केवल तालिममा सिकाइएका कुरा मात्रै बोलेको आभास हुन्छ । प्रतियोगिताका क्रममा उनीहरु शारीरिक हाउभाउ र मुस्कानका साथ स्टेजमा क्याटवाक गर्दै प्रस्तुत हुन्छन्, उनीहरुमा देखिएको त्यो आत्मविश्वास र दृढता प्राप्त तालिमका कारण नै भएको हुन सक्छ । तर, आफूमा क्षमता भए मात्र सफलता पाउन सकिन्छ, आफ्नो क्षमता नदेखाई कुनै ताज र टाइटल पाउनेबित्तिकै रातारात चर्चित सेलिब्रेटी हुने सोच्नु आफैंमा मूर्खता हो । कतिपय यस्ता प्रतियोगिताहरुमा उपाधि जित्नेहरुसमेत गुमनाम हुन्छन् भने अन्य सहभागीहरु कहाँ के गर्दैछन्, अत्तोपत्तो हुन्न । आजका चर्चित सेलिब्रेटीहरुको विगत हेर्ने हो भने उनीहरु रातारात त्यो उचाईमा पुगेका हैनन् । कडा मिहिनेत, कठिन परिश्रम, सङ्घर्षकै कारण उनीहरु आ–आफ्नो क्षेत्रमा सफल बनेका हुन् र सफलताको त्यो उचाईमा रहिरहन उत्तिकै सङ्घर्षरत छन् । यस्तै सौन्दर्य प्रतियोगिताबाट चर्चामा आएकामध्ये केही मात्र सेलिब्रिटी बनेका छन्, अन्य गुमनाम हुनुले पनि मिहिनेत र सङ्घर्षबिना सफलता हात पार्न कठिन हुन्छ भन्ने प्रष्ट हुन्छ ।

अर्कातिर, प्रतियोगिताको नाममा पनि ताज जित्नैपर्ने डरलाग्दो होड र ताजका लागि पर्दापछाडिबाट हुने विभिन्न खेलले अहिले भइराखेका कतिपय प्रतियोगिता कति निष्पक्ष र व्यावसायिक छन्, चर्चाको विषय बन्ने गर्दछ । यस्ता सुन्दरी प्रतियोगिताहरु प्रतियोगीको प्रतिभा प्रस्फुटन गर्नेभन्दा पनि यससँग जोडिएको आर्थिक पाटो महत्वपूर्ण छ । यस्ता प्रतियोगिताका आयोजकले स्वयंसेवाका लागि प्रतियोगिता आयोजना पक्कै गरेका होइनन् । वर्षभरिका दर्जनौं सङ्ख्यामा हुने यस्ता प्रतियोगिता आयोजना गर्न कति खर्च हुन्छ, विजेताहरुलाई दिने पुरस्कार छँदैछ । अर्थात्, यस्तो कार्यक्रम आयोजना हुँदा लाखौं खर्च हुने गर्दछ । यस अर्थमा यी प्रतियोगिता निःशुल्क आयोजना भएका हुँदैनन् ।

यस्ता प्रतियोगिताको आम्दानी स्रोत भनेको टिकट बिक्री, सहभागी शुल्क र प्रायोजकबाट प्राप्त हुने आम्दानी हो । प्रतियोगिता हुँदा अडिसन र छनोटको नाममा सकेसम्म पैसावाललाई मात्रै प्रतियोगितामा सहभागी गराउने जनगुनासो पनि आउने गरेको छ । एकदेखि पाँच हजारसम्मको महँगो टिकट दर राखी जबर्जस्ती या ताजको लोभ देखाई प्रतियोगीहरुलाई टिकट बेच्नैपर्ने बाध्यतामा पारिन्छ, जुन सरासर गलत हो । मस्ट पपुलरको ताज दिने नाममा प्रतियोगीको भोटिङ खुलाएर रकम उठाउने गरिन्छ । विभिन्न दुई सय जति प्रतियोगितामा निर्णायकका रुपमा सहभागी भएका सञ्चारकर्मी सूर्य चन्द पनि यति धेरै सौन्दर्य प्रतियोगिता हुनुमा आर्थिक फाइदा र व्यवसाय नै भएको बताउँछन् । यस्ता प्रतियोगितामा पर्दापछाडि विभिन्न खेल हुने गुनासोसमेत सुनिन्छ । केही प्रतियोगिता विवादमा पनि आउने गरेका छन् । हुन त, सुन्दरी प्रतियोगिता आफैंमा गलत होइन । तर, प्रतियोगिताका नाममा हुने बेथिति र विकृतिलाई भने समयमै हटाउनैपर्छ । यसैगरी, आधुनिकताको नाममा बाहिरी सुन्दरता वा शारीरिक सुन्दरता मात्र हैन, भित्री सुन्दरता अर्थात् शैक्षिक योग्यता, बौद्धिक क्षमता, दक्षता र विचारमा निखार ल्याउन सके मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने यथार्थलाई मनन् गर्न उत्तिकै जरुरी छ । रहरै रहरमा यो क्षेत्रमा हाम फाल्नेभन्दा जानेर, बुझेर र आफू यही क्षेत्रमा केही गर्छु भन्ने आफूमा खुबी भएमा मोडलिङ क्षेत्र नराम्रो छैन । हरेक कुराका राम्रा र नराम्रा पक्ष त हुन्छन नै । यसलाई कसरी लिने भन्ने कुरा मात्र हो । बग्रेल्ती हुने यस्ता प्रतियोगितालाई सरकारले नियमन गर्न जरुरी छ ।

रिजा मिश्रा
आवरण मोडल
कलाकारिता तथा मोडलिङ क्षेत्रमा नै भविष्य सम्झेर एक कुशल, चर्चित नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी नवप्रतिभा हुन् रिजा मिश्रा । यही क्षेत्रमा नाम कमाउन अनि चर्चित हुने चाह लिएर आएकी छन् उनी ।
काठमाडौैंलाई कर्मथलो बनाएर मिश्रा अध्ययनसँगै मोडलिङलाई पनि अघि बढाइरहेकी छन् । नृत्य र अभिनयमा अब्बल उनले सौन्दर्य प्रतियोगिता फेस अफ दि नेसन, २०१९ को उपाधिसमेत चुमेकी छन् । सानैदेखि नाच्न हुरुक्क हुने रिजाले फेस अफ दि नेसनको उपाधिसँगै २५ हजार रुपैयाँ नगद, म्युजिक भिडियो र एउटा चलचित्रमा अभिनयको अवसरसमेत पाएकी छिन् ।

केही म्युजिक भिडियोबाट अभिनयको तारिफसमेत बटुलेकी उनी समाजसेवा र मोडलिङमा रुचि रहेको बताउँछिन् । आफ्नो उद्देश्य सफल महिला व्यवसायी र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने रहेको बताउने उनी यतिबेला पुतलीसडकमा रहेको परिवर्तन नेपालमा नृत्य सिकिरहेकी छिन् । कलाकार विनोद श्रेष्ठको प्रेरणाले आफू यो क्षेत्रमा आएको बताउने रिजा आफ्नो अभिनयमा अझै निखारता ल्याउन कान्तिपुर फिल्म एकेडेमीमा अभिनयमा डिप्लोमा गर्दैछिन् ।

राजेश हमाल र प्रियंका कार्की आफूलाई मन पर्ने कलाकार रहेको बताउने उनी सानालाई माया गर्ने ठूलोलाई आदर गर्ने बताउँछिन् । रिजाले नेपाली कला क्षेत्रमा कस्तो पहिचान बनाउने हुन् त्यो त उनका आगामी प्रस्तुतिले नै प्रष्ट पार्नेछ । अहिलेलाई भने ‘एउटा राम्रो सम्भावना बोकेकी कलाकार हुन् रिजा’ भन्छन् यस क्षेत्रका अग्रजहरु ।

अनुष्का बनिन् मिस नेपाल २०१९
२०१९ को मिस नेपालको ताज अनुष्का श्रेष्ठले पहिरिएकी छिन् । काठमाडौंमा जन्मिएकी अनुष्का २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै यो वर्षको मिस नेपाल वल्र्डको उपाधि जितेकी हुन् । उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया पुगेकी अनुष्काको पहिचान अब भने केवल सौन्दर्यसँग मात्र नभई ‘आफ्नै देशका लागि योगदान गर्नुपर्छ, मिहिनेत ग¥यो भने स्वदेशमा नै हुन्छ’ भन्ने सुन्दर भावनासँग पनि गाँसिएको छ । उसो त, पाँच फिट चार इन्च उचाईकी अनुष्का मिस नेपाल वल्र्ड-२०१८ की विजेता श्रृङ्खला खतिवडाले क्राउन लगाइदिँदै गर्दा उनका आँखाबाट खुसीका आँशु छचल्किए । मिस नेपालमा भाग लिन अष्ट्रेलियाबाट बैङ्कको आकर्षक जागिर त्यागेर आफ्नै देशका लागि केही गर्नुपर्छ भन्ने अठोट बोकी नेपाल फर्किएकी अनुष्कालाई मिस वल्र्ड नेपालको ताजले देशका लागि केही गरेर देखाउने अवसर प्रदान गरेको छ । २३ वर्षकी अनुष्काले सन् २०१८ को मिस नेपाल ओसिनियाको उपाधिसमेत जितेकी थिइन् । अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटीबाट स्नातक अध्ययन पूरा गरेकी उनी आगामी डिसेम्बर ७ मा आयोजना हुन लागेको ‘मिस वल्र्ड’ को प्रतिस्पर्धामा सहभागी हुनेछिन् ।

– मिलापको जेठ अङ्कबाट

यसमा तपाइको मत

अन्य समाचार