२०औं चलचित्र पत्रकारिता दिवस मनाइँरहदा

नेपालमा चलचित्र पत्रकार सङ्घ गठन भएको २० वर्ष पुगेको छ । हामीले हरेक महिना ज्येष्ठ ७ गतेलाई स्थापनाको दिन पारेर चलचित्र पत्रकार दिवस मनाउँदै आएका छौ । ‘चलचित्र पत्रकारितालाई सङ्गठीत एवम् मर्यादीत बनाऔं’ भन्दै हामीले यो वर्ष पनि ज्येष्ठ ७ गते मङ्गलबार (आज) राजधानी र मोफसलका विभिन्न स्थानहरुमा यो दिवस मनाउन गइरहेका छौ ।

२१ वर्ष अघि भरत शाक्यको अध्यक्षतामा गठन भएको यो सङ्घको छाता मुनी अहिलेसम्म आइपुग्दा थुप्रै पत्रकारहरु जुटनु भएको छ । संस्थापक अध्यक्ष भरत शाक्यहुँदै विदुर गिरी शान्तिप्रियले अगाडि बढाउनु भएको यो सङ्घ अहिले सन्दिप सापकोटाको नेतृत्वमा रहेको छ । मोफसलमा बुटवल, दाङ, हेटौडा, पोखरालगायतका पूर्व देखि पश्चिमसम्म चलचित्र पत्रकार सङ्घ सकृय छ । २०औं चलचित्र पत्रकार दिवस मनाइँरहदा चलचित्रका साथै रङ्गपत्रकारितालाई अझ कसरी मर्यादीत बनाउने भन्ने कुराले स्थान पाएको छ ।

– गीता अधिकारी

राजधानी काठमाडौं, हेटाडालगायतका ठाउँहरुमा यो दिनको अवसर पारेर यस क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र कलाकारलाई सम्मान एवम् पुरस्कार प्रदान गर्ने गरिन्छ । काठमाडौंमा आज हुने समारोहमा प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई निम्ताएका छौ ।

काठमाडौंमा चलचित्र पत्रकार संघको २० औं दिवसका अवसरमा राजधानीको कालोपुल स्थित हिरारत्न सिनेमाघरमा आयोजित समारोहमा यो वर्षको चलचित्र पत्रकारिता सम्मान चलचित्र पत्रकार सङ्घ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजन संसार डटकमका सम्पादक श्याम स्मृतलाई प्रदान गरिदै छ । चलचित्र पत्रकारितामा पु¥याएको योगदानको कदर गर्दै भट्टराई र स्मृतलाई सम्मान गर्न लागिएको हो ।
यसैगरी संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र सङ्घकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिदै छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गरिदै छ । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी रहेको छ । यस्तै संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिदै छ । चलचित्र पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै फोटो पत्रकारका रुपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछन् ।

त्यस्तै हेटौडामा यो बर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी नवराज लम्साललाई पुरस्कृत गरिदै छ । लम्साललाई प्रदान गर्ने पुरस्कारको राशी नगद १० हजार रहेको छ । सोही अवसरमा यो वर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदै आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गरिदै छ । पराजुलीलाई दिने पुरस्कारको राशी ५ हजार रहेको छ । मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा रहेका कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यो वर्ष नेपाली चलचित्रका द्वन्द्व निर्देशक÷कलाकार तथा निर्माता, निर्देशक राजेन्द्र खड्गीलाई सम्मान गरिदै छ । मोफसलका अन्य सङ्घले पनि विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् आज ।

चलचित्र पत्रकारिताको यो २० वर्षमा खोला–नाला र भङ्गालाहरु अनेकन छन् । अहिले यो पेशा विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको छ । समाचार लेखेकै कारण, प्रशारण गरेकै कारण समय समयमा आउने धम्की र अन्य समस्या छदै छन् भने अझै पनि यो क्षेत्रमा लागेका पत्रकारहरुको व्यवसायिक हुन नसकेको देखिन्छ । खासगरी प्रशंसा मात्र सुन्न चाहने र सिर्जनात्मक आलोचनासम्म सुन्न र देख्न नसक्ने केही कलाकर्मीका कारण समय समयमा विभिन्न समस्याहरु देखा पर्दछन् यो क्षेत्रमा । रहर र लहलहैमा यो क्षेत्रमा आएका केही छन् भने यसै क्षेत्रमा केही उल्लेखनिय काम गरौ भन्नेको सङ्ख्या पनि राम्रै रहेको छ चलचित्र पत्रकारितामा । हामीले समय समयमा चलचित्र क्षेत्रको वहस, अन्तकृया, कार्यशाला, रक्तदानलगायतका कार्यक्रम गर्दै आइरहेका छौ ।

नेपाली चलचित्र उद्योगले पाँच दशकको यत्रा गरिसक्दा चलचित्र पत्रकारिता क्षेत्र भने त्यो भन्दा पुरानो थियो । नेपालमा चलचित्र न बन्दा पनि चलचित्रका समचारमा कलम चल्ने गरेको पाइन्छ । जुन अहिले पनि उत्तिकै सकृय रहेको छ ।
हामीले आफूलाई सञ्चार क्षेत्रमा काम गर्ने भन्छौ । सञ्चार भनेको विचार र जानकारी (वा सूचना)को आदानप्रदान गरिने प्रक्रिया हो । वास्तवमा सुचना, तथ्याङ्याक एवम् जानकारी प्रबाह गर्ने प्रणाली तथा प्रकृया सञ्चार हो । सञ्चारका विविध रुप हुन्छन् । पत्रपत्रिका, टेलिभजन तथा अन्य सञ्चारका माध्यमहरु सुरु नहुँदा पनि विभिन्न माध्यमबाट एक अर्कोमा सूचना सम्प्रेसण गर्ने गरिन्थ्यो । सञ्चारका विभिन्न माध्यमहुँदै कागजमा छपाई गरेर पढने नै विश्वजगतमा सबैभन्दा बढी प्रचलित रह्यो भने विद्युतिय सञ्चारमाध्यम पनि त्यतिकै शसक्त रहेको छ । अझ पछिल्लो समयमा त सामजिक सञ्जालको बाढीले यसलाई अझ विस्तृत वनाइदिएको छ । चलचित्र पत्रकार सङ्घ नेपालको १८औं वार्षिकोत्सवमा विशिष्ठ कलाकार हरिवंश आचार्यले ‘सञ्चारकर्मी कसलाई भन्ने मैले मेरो फेशवुकमा एउटा पोष्ट गरे भने एकै पटक पाँच हजार भन्दा बढीले हेर्छन, यो हिसावले म पनि एउटा सञ्चारकर्मी भए’ भनेका थिए । सूचना सम्पे्रशण गर्ने मात्रै नभएर यसैलाई आफ्नो मुल कर्म बनाएर हिडनेलाई नै सञ्चारकर्मी भन्ने होला ।

नेपाली पत्रपत्रिकाहरुमा चलचित्र पत्रकारितालाई हरेक पत्रिकाले स्थान दिएका छन् । सबै पत्रिकाहरुले चलचित्र सम्बन्धी समाचारलाई आफ्नो प्रमुखतामा राखेको पाइन्छ भने ठूला सञ्चार माध्यमले पनि यस सम्बन्धि साप्तिाहिक अङ्कहरु प्रकाशन गर्ने गरेका छन् ।

चलचित्र सम्बन्धी नेपालको पहिलो पत्रिका ‘सिनेमा’लाई लिइन्छ भने नियमित प्रकाशनको दृष्टिले विगत ११ बर्षदेखी काठमाडौंबाट प्रकाशित भइरहेको साप्ताहिक पत्रिका ‘फिल्मीखबर’ हो । जसलाई शान्तिप्रियले प्रकाशन तथा सम्पादन गर्दै आउनु भएको छ । म पनि यसमा शुरुवाती वर्ष देखि नै काम गर्दै अएकी छु । नेपाली चलचित्र पत्रकारितामा देखिएका अन्य पत्रिकाहरुमा उर्वशी, चाँदनी, श्री, अप्सरा, प्रिया, रोशनी, पूर्णिमा, सिने स्टार, मञ्जुषा, सिनेमा टाइम्स, कुमारी, मनको तरङ्ग, मधुरी, गीताञ्जली, भावना, ढुकढुकी, सिमल, स्क्रिन, वारपार, कलिउड स्टार, प्राइमम्यागजिन, सानो पर्दा, कलाश्री, सिने सम्झना, कलापुञ्ज, सिनेमा समर्पण, सिने हट लाइन, स्टारडम, सनेयात्री, शृङ्गार, ग्लामर प्लस, कामनालगायतका रहेका छन् । कुनै नियमित प्रकाशनमा छन भने कुनै अक्कल झुक्कल प्राकशनमा रहेका भए पनि केही इतिहासमा सिमित भएका छन् ।

पत्रकारितालाई समाजमा सूचना मार्फत सत्य, तथ्य सामग्री प्रस्तुत गर्ने सचेत जिम्मेवारी पेशाकर्मीका रुपमा लिइन्छ । यस्तो पेशा अङ्गाल्ने मान्छे गैर जिम्मेवार भयो भने यो पेशा बदनाम हुन पुग्छ । यो सम्वेदनशील पेशा हो । यसको मर्यादा राख्नका लागि आफू नै बढी जिम्मेवारी हुनुपर्दछ । पछिल्लो समयमा अनलाइन र केही युट्युव च्यानलहरुले पैसा आउँछ भन्दैमा सम्बेदनशीलताको ख्याल नगरेको गुनासोहरु धेरै पाइन्छ । हामीले समाचार र सूचना सम्प्रेषित गर्दा विश्वासयोग्य, तथ्यपरक, निश्चित, उत्तरदायी हुन आवश्यक छ ।

हामी सबैले बुझ्नु पर्ने मुख्य कुरा के हो भने पेशाको मर्यादा राखे मात्र पेशामा संलग्नको पनि मर्यादा रहन्छ । तथ्याङ्क अनुसार पछिल्लो समय विश्वमै धेरै पढिने विधामा मनोरञ्जन समाचार पर्ने गर्दछ । सायद अन्य क्षेत्र भन्दा यो ग्ल्यामर क्षेत्र भएर पनि होला । कलाकारका हरेक कुरा समाचार बन्ने गर्दछन् त्यसैले पनि विश्वमै यो एक नम्बरमा पर्न सफल भएको । यस्तो क्षेत्रमा काम गर्ने हामी अझ बढी जिम्मेवार बन्नुपर्दछ । यो वर्ष चलचित्र पत्रकार सङ्घ दिवसका अवरमा केन्द्र र मोफसलबाट सम्मानित र पुरस्कृत हुने सबैमा हार्दिक बधाई तथा शुभकामना । हाम्रो नारा जस्तै चलचित्र पत्रकारिता अझ सङ्गठीत एवम् मर्यादीत होस्, यही कामना ।

यसमा तपाइको मत

अन्य समाचार