जुनसुकै विषयमा मुटुको गाँठो फुकाएर लेख्न बसे नि हृदय पुलकित हुन्छ- सुरेश घिमिरे ‘निश्चिन्त’

वि.सं. २०३८ सालमा ‘खेलाडी हुँ खेलाडी हुँ…’ बोलको गीतबाट नेपाली गायन क्षेत्रमा आफूलाई होमेका सुरेश घिमिरे ‘निश्चिन्त’ अहिलेसम्म आइपुग्दा थुप्रै गीतमार्फत् स्रोता/दर्शकको मन मस्तिष्कमा बस्न सफल भएका छन् । काठमाडौंको डाँछी गाविस, वडा नं. ९, डुमाखाल (हालको कागेश्वरी मनोहरा नगरपालिका–५) मा पिता शान्तप्रसाद घिमिरे र माता शारदादेवी घिमिरेको कोखबाट वि.सं. २०१८ भदौ १५ मा यस धर्तीमा आएका सुरेश ३० वर्ष लामो समयअवधिसम्म विभिन्न सरकारी निकायहरुमा प्रशासनिक सेवामा रहे । श्री पद्मदीप स्मृति प्रतिष्ठान, सुनकोशी सङ्गीत प्रतिष्ठान, स्नो ह्वाइट सहकारी संस्था, कलानिधि सहकारी संस्था, कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयजस्ता सङ्घ–संस्थामा संलग्न रहेका घिमिरेका स्पन्द मुटुको (गीतिसङ्ग्रह–२०६४), शुभेच्छा (गीतिएल्बम–२०६६), दिल खोली पर्खिरै’छु (गीतिसङ्ग्रह–२०६८), मीठो मूच्र्छना (गीतिएल्बम–२०६९), तीर्थ (यात्रासंस्मरण), पद्मदीप दर्पण, सुदिपन (गीतिएल्बम), सुगन्ध (भजनएल्बम)जस्ता कृति स्रोता, दर्शक र पाठकमाझ आइसकेका छन् । गीतलेखनसँगै गायनमा पनि आफूलाई प्रस्तुत गरेका सुरेशले समूहगायनमा उनका धेरै रुचाइएका गीतमा ‘काली पनि देखें गोरी पनि देखे…’, ‘घाँस काटी वैलीलाई…’, ‘मायालु सम्झी कति रोइरहने…’, ‘देखेपछि माया नि लाग्ने छेकँु भन्दा भाग्ने…’ (बदलिँदो आकाश चलचित्र) लगायत पर्दछन् । उनका समय–समयमा विभिन्न सञ्चारमाध्यम र कृतिहरुमा अन्य फुटकर लेख–रचनाहरु पनि प्रकाशित भइरहने गर्दछन् । उनै साहित्य सर्जक, गीतकार तथा गायक सुरेश घिमिरे ‘निश्चिन्त’सँग मिलापका लागि कृष्ण भुसालले गरेको कुराकानीको सङ्क्षिप्त अंशः–

अहिले के लेख्दै हुनुहुन्छ ?
लेख्ने, गथ्ने, कोर्ने सिर्जना गर्ने विषय त यहाँ अनगिन्ती छन् तर एउटा गीत लेख्न रमाउने म गीत लेख्दैछु भन्दा फरक नपर्ला ।

सुरेश घिमिरे ‘निश्चिन्त’ को हो ?
सर्वप्रथम सुरेश घिमिरे ‘निश्चिन्त’ साविक का.जि., डाँछी गाविस–९, हाल कागेश्वरी मनोहरा नगरपालिका–५ स्थायी निवासी दीपनारायण घिमिरेको नाति शारदा घिमिरे तथा शान्तप्रसाद घिमिरेको कान्छो आज्ञाकारी छोरा, कसैको जिम्मेवार पिता, एउटा राष्ट्रसेवक अनि एउटा सामान्य मान्छेभित्र लुकेको साहित्य अनुरागी अनि गीत–सङ्गीतप्रेमी हो ।

साहित्यमा तपाईंको बढी रुचिको विषय कुन हो ?
साहित्य भन्ने विधा नै यस्तो छ, जसमा धेरै–थोरै भन्ने नै हुँदैन जस्तो लाग्छ मलाई । जुनसुकै विषयमा मुटुको गाँठो फुकाएर लेख्न बसे पनि हृदय पुलकित नै हुन्छ । साहित्यमा रुझ्नेका लागि जुनसुकै विषय पनि गहनतम् नै लाग्छ । तर, यतिखेर दिल खोलेर भन्नुपर्दा मलाई गीतिसाहित्य नै अलि बढी रुचिकर विषय हो भन्न कर लाग्छ ।

जीवन के हो ? गीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवन एउटा अनिश्चित, अधुरो, समय निर्धारण नगरिएको, भगवान्बाट सृष्टि गरिएको फूलबारी हो । यही जीवनमा फुलेका, झरेका, मुर्झाएका, मौलाएका हजारौं फूलको सुगन्धित स्वरुप हो गीत । अब ज–जसले जस्तो–जस्तो पाएका छन्, जसरी–जसरी जीवन हाँकेका छन्, यी जीवन हाँक्ने यदि भावुक छन्, कोमल छन्, लेख्न रुचाउने छन् र लेखिहाले भने त्यो कतै गीत भएर गुञ्जिन्छ, कतै कथा–काव्य भएर उर्मिन्छ, कतै कतै नाटक भएर मञ्चन हुन्छ । सायद यस्तै होला गीतको परिभाषा मेरो विचारमा ।

तपाईं कसका लागि लेख्नुहुन्छ गीत ?
अलिकति आफ्ना लागि लेख्छु, अलि–अलि माया गरिदिनेका लागि लेख्छु अनि अनगिन्ती आफ्नो राष्ट्रका लागि लेख्छु ।

तपाईंलाई लेख्ने प्ररेणा कहाँबाट प्राप्त हुन्छ ?
कहिलेकाहीँ आफ्नै हृदयबाट, कहिलेकाहीँ अरुको हृदयबाट अभिप्रेरित हुन्छु । घरपरिवार, समाज, देश अनि यहाँ हुने घटना–परिघटनाहरु मेरो गीत लेख्ने साधन बन्छन् । यिनैले मलाई चारैतिरबाट घे ा हाली गिज्याउन थाल्छन् अनि लेखुँ–लेखुँ लाग्छ ।

साहित्यलेखन कहिलेदेखि सुरु गर्नुभएको हो ?
स्कुलेजीवनमा शहीद दिवसका लागि पहिलो कविता कोर्ने जमर्को गरेको थिएँ, वि.सं. २०३१/०३२ सालतिर । जतिबेला म कक्षा ८मा पढ्दै थिएँ । पर्सा जिल्लास्तरीय कविता महोत्वसवमा म जब दोस्रो भएँ र पुरस्कार पाएँ, तब मलाई लेख्न जाँगर चल्यो । सायद यहीँबाट मेरो साहित्यलेखनको यात्रा प्रारम्भ भएको हो भन्ने मान्नुपर्छ ।

गीतको आत्मा केलाई मान्नुहुन्छ ?
गीतको आत्मा भनेको गीत सिर्जना गर्ने सर्जकको हृदयलाई मान्छु । गीत लेख्ने मान्छे जहाँ–जहाँ भक्कानिएको हुन्छ, स्रोता–पाठक पनि त्यहीँ–त्यहीँ भक्कानिन्छन् । यही भक्कानो नै वास्तवमा गीतको आत्म हो ।

आजभोलि लेखिएका गीतहरुमा कत्तिको आत्मा भेट्नुहुन्छ  ?
साँच्चै यो गीतभित्र आत्मालाई प्रवेश गराएर सोध्नुभएको तपाईंको प्रश्न नै गहन छ । परमात्मासँग मिलन गराउने भजन र आत्मासँग मिलाप गराउने गीतको भेद बुझ्न निकै कठिन छ । एउटा तवायफको कोठी जस्तो सम्झेर गीत रचना गर्नेहरुको अहिले किरीमिरी छ । अर्थहीन, निरस शब्द लेख्नेको लामबद्धता देखेर डर लाग्छ कि कतै नेपाली मौलिक साहित्यको अवशान हुने त होइन भनेर । दुई–चार अग्रज र अनुजबाहेक गीतलाई आत्मासँग र भजनलाई परमात्मासँग दाँजेर रचना गर्ने, सङ्गीत भर्ने भेट्दिनँ म आजभोलि ।

तपाईंले लेख्ने गीतको आधारचाहिँ के हो  ?
मैले सिर्जना गर्ने गीतहरु माया, प्रेम, कुण्ठा, सामाजिक वातावरण, देशप्रेम र प्रकृतिप्रेमका आधारशीला हुन् ।

अहिलेको नेपाली गीत–सङ्गीतको अवस्था कस्तो पाउनुहुन्छ  ?
मैले माथि पनि भनें सायद त्यसलाई ठाउँ प्रशस्त पार्दैै पुनः तपाईं यो प्रश्नमा आउनुभयो, मलाई थाहा थियो यो प्रश्न आउँछ भनेर । पूर्णरुपले बजारमुखी र प्रतिस्पर्धामा आँखा चिम्लेर लागेको छ अहिलेको नेपाली गीत–सङ्गीतको बजार । गुणस्तर गीत–सङ्गीतभन्दा गुणस्तरहीन नेपाली मौलिकता पाखा लगाएर गीत निर्माण भइरहेको मैले पाएको छु । यही अवस्था र यही होडबाजीमा गइरहने हो भने हामीलाई भोलि पत्ता लगाउन गाह्रो हुन्छ कि यो गीत–सङ्गीत नेपाली हो या विदेशी हो भनेर । सङ्ख्यात्मक हिसाबले धेरै गीत आउलान् तर गुणस्तर गीत र नेपाली पहिचानको गीत कम नै निस्कन्छन् ।

तपाईंलाई साह्रै मनपर्ने गीत  ?
‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे…’, ‘लोलाएका ती ठूला तिम्रा दुई नजरले…’, ‘ए मलाई माया गर्छु भन्ने हजुर…’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा…’लगायतका थुप्रै छन् ।

तपाईंलाई असाध्यै मनपर्ने गीतकार/सङ्गीतकार र गायक  ?
गीतकारमा म.वि.वि. शाह, सङ्गीतकारमा गोपाल योञ्जन, गायकमा नारायण गोपाल ।

तपाईंलाई वर्तमान समयमा बजारमा आएका गीतहरुमध्ये कस–कसका कुन–कुन गीतहरु कुन हदसम्म मनपर्छन् ?
मलाई त गोपाल योञ्जनका रचना र सङ्गीतमा रहेका र नारायण गोपालले गाएका अधिकांश गीतहरु नै धेरै मनपर्छन् । सङ्गीतको वजन, शब्दको विशिष्टता अनि स्वरको मिठासले म त जहिले पनि भुतुक्कै हुन्छु । ‘तिम्रो जस्तो मुटु मेरो पनि…’, ‘चौतारीमा बसेर रुन पाऊँ…’, ‘ए मलाई माया गर्छु भन्ने हजुर…’ जस्ता बोलका जीवन्तता बोकेका गीत अब कहाँ निर्माण हुन सक्छन् ? जीवनको वास्तविकता झल्काउन सक्ने यस्ता गीत अब बन्दैनन्, सुनेर रमाउनेमात्र हो । वर्तमान समयमा निर्माण भएका गीत सबै खराब त भन्दिनँ, कुनै–कुनै सर्जकका गीत निकै राम्रा पनि छन् तर प्रशंसाचाहिँ अहिले गर्दिनँ । त्यसको कारण छ, पछि भनूँला ।

राम्रो गीत, राम्री युवती र मदिरा कुन रोज्नुहुन्छ  ?
भगवान्ले सबैलाई एउटा मन दिनुभएको छ । त्यही मनभित्र अनेक सोच, विचार र भावनाको भण्डार पनि छ । जो जस्तो प्रवृत्तिको छ, उसले त्यस्तै रोज्ने गर्छ । यसो भनिरहँदा कुरा स्पष्ट नहोला । मदिरा सेवन नगर्ने कुनै सर्जकले मदिराको बारेमा लेखेको पाउँछौं, कुनै पनि युवती मन नपराउनेले यौवनका बारेमा लेखिरहेको पाउँछौं । भगवान्लाई नमान्नेले भजन लेखिरहेको हामी पाउँछौं । त्यसैले यसमा यस्तै हुन्छ भनेर ठोकुवा गर्नचाहिँ अलि कठिन नै हुन्छ । अब नितान्त मेरो बारेमा भन्नुपर्दा मचाहिँ राम्रो अनि उत्कृष्ट गीत नै रोज्ने गर्छु ।

गीतलेखन र यौन कुन बढी उत्तेजक प्रक्रिया हो  ?
हा हा हा हा…। गीत र यौनको आ–आफ्नै मूल्य, मान्यता र विशेषता रहेको छ । गीत लेख्ने गीतकर्मी यौनकर्मी हुन सक्दैन र यौनकर्मी कहिल्यै गीतकर्मी हुन सक्दैन । गीत सिर्जना गर्दा कुन भाव, विचार र सोचाइमा ऊ डुबेको हुन्छ गीत त्यस्तै सिर्जना हुन्छ । यो अलि अप्ठ्यारो प्रसङ्ग उठेको छ, जसको बारेमा जति लेखे पनि लेखाइले पूर्णविराम पाउँदैन । गीतमा मायाको प्रशंसा अत्याधिक गरिन्छ । मायाकै प्रशंसा गर्दागर्दै कतै यौवनको कुरा पनि आउँछ । यसरी धाराप्रवाह लेखनमा आएको यौवनका कुरालाई यौनमा गाँसेर बोल्न पनि अलि गाह्रो विषय हो । यौवनका कुरा गीतमा गर्दा त्यहाँ माधुर्यताले बास गरेको हुन्छ । यौनको झल्को आउन दिनु पनि भएन, त्यसो हुँदा गीतभित्रको माधुर्यताको हत्या हुन्छ । गीतलेखनमा आउने यौवनका कुराले उत्तेजक बनाउँदैन किनकि त्यहाँ ललितम् तत्वले मनलाई कोमल र दयावान् बनाइरहेको हुन्छ । त्यसैले मलाई लाग्छ, गीतभित्र यौवनता हुन्छ, कथा र अन्य साहित्यमा यौनका कुरा र भावना हुन्छ । झट्ट भन्दा यौन नै बढी उत्तेजक प्रक्रिया हो भन्ने लाग्छ ।

एकथरि मानिसहरु भन्छन् साहित्यमा यौन चाहिन्छ । अनि अर्कोथरि साहित्यमा यौन वर्जित छ भन्छन् । यहाँको विचारमा के होला  ?
हेर्नुहोस्, यो संसार र यो संसारमा निवास गर्ने मान्छे फरक–फरक छन् । जो जस्तो प्रवृत्तिको छ, उसको सिर्जना उसको भावअनुसार नै जन्मिन्छ । पारिजात, भूपि शेरचन, बीपी कोइरालाजस्ता अन्य केही साहित्यकारहरुले आफ्ना सिर्जनामा यौनलाई बढी प्राथमिकता दिएर लेखे, जो उनीहरुलाई लेख्न मन लाग्यो । अरु यस्ता साहित्यकारहरु पनि छन्, जो यौनलाई लुकाएर, दबाएर साङ्केतिक शैली प्रयोग गरेर लेख्छन् । कोही–कोही त यौनको ‘यो’ समेत नआउने गरी लेख्छन् । बजारमा अनेक विचार बोकेका पाठक हुन्छन् । त्यसैले सबै प्रकारको साहित्यिक स्वाद दिन सक्नु नै एउटा सफल साहित्यकारको धर्म हो जस्तो मलाई लाग्छ । कथाले मागेजति यौनका भावहरु आफ्नो कृतिमा नराख्ने हो भने आफ्नो साहित्यिक विधा र लेखन पूर्ण हुन सक्दैन । त्यसैले साहित्यमा यौन वर्जित नै हुन्छ र गर्नुपर्छ भन्ने विचार मेरो छैन । आवश्यकताअनुसार यौनभाव राख्नुपर्छ भन्ने मेरो पनि मत छ ।

तपाईं गीतमा कत्तिको कुतर्क गर्नुहुन्छ  ?

म गीतिसाहित्यमा कुतर्क गर्न नै सक्दिनँ किनकि मेरो स्वभावले नै दिँदैन । तर, आफ्नो सिर्जनाबाहेक अरुका सिर्जनाहरु जो समाज, घर, परिवार विरोधी छन्, तिनका बारेमा तर्क, वितर्क, कुतर्कचाहिँ गर्न मनलाग्छ, किन यस्तो लेखियो, किन यस्तो गाइयो भनेर ।

गीतबाहेक अन्य क्षेत्रमा लेख्ने झोंक चलेको छैन ?
कहिलेकाहीँ चल्छ । गीतबाहेक मैले मेरो बाजे–बज्यैको बायोग्राफी लेखें, ६ महिना लगाएर । पद्मदीप दर्पण, त्यसपछि तीर्थ यात्रासंस्मरण लेखें । कहिलेकाहीं लघुकथा, कविता, गजल पनि लेख्छु, लेखेको छु तर झोंकमा हैन, लेख्न मन लागेर नै हो ।

गीत लेखेर पाइने र नपाइने के हो ?
सीधै भन्नुपर्दा चाहिँ गीत लेखेर पाइने नाम हो र नपाइने चाहिँ दाम हो । तर, गीत–सङ्गीतका अहिलेका दलाली भिडभाडमा त केही पनि पाइँदैन भन्दा पनि हुन्छ ।

बजारमा राम्रा गीतकार र गीतभन्दा ‘झुर’ले बजार तताइरहेको देख्दा कत्तिको झोंक चल्छ ?
झोंकमात्र हैन, म यदि सम्बन्धित निकायको प्रमुख हुन्थें भने र अधिकार पाउँथें भने बिनासेन्सर गीत आउन नै दिने थिइन । झोले, पोके, ढोके र दलालहरुले नेपाली गीत–सङ्गीतलाई व्यापारीकरण गरेर गीतकारलाई मुर्गा बनाइरहेका छन् । पैसाको बलमा, राम्रा गीत मारेर झुर गीतलाई प्रसय दिइरहेको यस्तो परिपाटीले राम्रा गीतको भविष्य अन्धकार हुन लागेको देख्दा चिन्ता लाग्छ । सामाजिक संरचना नै बिथोलिने खालका झुर सिर्जना बजारमा आउँदा त्यसको नराम्रो असर युवापिढीमा परिरहेको महसुस हुँदाहुँदै पनि सम्बन्धित सरकारी निकाय किन मौन छ ? यो रहस्यमय लाग्छ मलाई । नेपाली गीत–सङ्गीत र भाषा–साहित्यको लथालिङ्गपनले दुःखी छु ।

हिजो र आजका गीत÷सङ्गीतमा कत्तिको फरक पाउनुहुन्छ ?
नेपाली गीत–सङ्गीत लेखनदेखि तालबद्धसम्मको कार्यलाई नियाल्दा हिजोका दिनहरु स्वर्णयुग थिए । जीवन्त भावमा कोरिएका शब्दहरुलाई अमृत रसस्वादन गराउने स्तरीय सङ्गीतमा लामो समयको रियाज र छलफलपछि गीतको रुपमा बजारमा ल्याइन्थ्यो । यौनाभाष भएका शब्दलाई पनि सङ्गीतले कोमलतम् रुप प्रदान गरेर सुनुँ–सुनुँ बनाउँथ्यो र हामी अहिले पनि ४०–५० वर्षअगाडि निर्माण भएका गीत सुनेर रमाइरहेका छौं । तर, आज त्यस्तो छैन । ‘तातै खाउँ, जल्दी मरौं’ भन्ने उखानझैँ छ, आजको नेपाली गीत–सङ्गीतको दुनियाँ । आज गीत लेख्यो, भोलि सङ्गीत भ¥यो, पर्सि रेकर्ड ग¥यो, चार दिनपछि बजारमा घान हाल्यो । यस्तो परिपाटीले गीत–सङ्गीतमा स्तरीयता कहाँबाट आउँछ खै ? यो त सब बजारीयापन र पैसा कमाउने धन्दामात्रै हो । अहिलेलाई यतिमात्र भनुँ, गीत–सङ्गीतको समय नेपाली समाजमा हिजोकै राम्रो थियो ।

यहाँका कस्ता र कति गीतहरु स्रोता–दर्शकमाझ आएका छन् ? अझै कस्ता गीतहरु लेख्ने र प्रकाशन गर्ने कार्ययोजनामा हुनुहुन्छ ?
मैले रचना गरेका प्रेमभावका गीत, पीडा र आवेगका गीत अनि लोकभाकाका कोमलतम् गीत र राष्ट्रिय भावका गीतहरु स्रोता र दर्शकमाझ आइसकेका छन् । जीवन र उमेरले साथ दिइरहुञ्जेल म गीत लेखिरहन्छु देशका बारेमा, समाजका बारेमा, माया पिरतीका बारेमा अनि भगवान्को गुणानुवाद (भजन)का बारेमा । लेख्ने योजना पनि छ र लेखिरहेको पनि छु ।

तपाईंलाई आफ्ना गीतहरु स्रोता/दर्शकमाझ पु¥याएपछि कस्तो अनुभूति हुने गर्छ ?
आफ्ना सिर्जनाहरु मिडियामार्फत् स्रोता/दर्शकमाझ पुगेपछि मलाई एउटा ठूलो भारी बिसाएझैं हुन्छ । अलिकति आफ्नो जिम्मेवारी स्रोता÷दर्शकसँग साटेझैं लाग्छ अनि आफ्ना दुःख बिसाएझैं लाग्छ ।

गीत–सङ्गीतका क्षेत्रमा रहेका गुट–उपगुटहरुलाई तपाईं कुन रुपमा लिनुहुन्छ ?
विशुद्ध लोकतान्त्रिक, सामाजिक र जनप्रिय हुनुपर्ने नेपाली गीत–सङ्गीतका क्षेत्रमा क्रियाशील सर्जकहरु गुटबन्दीमा लागेको देख्दा दुःख लाग्छ । सिर्जना गरिएका कृति र सर्जक कहिल्यै पनि गुटविशेषमा लाग्नु हुन्न । यसले समाजमा र आउने नयाँ पिढीमा दूरगामी प्रभाव पार्दछ । गीत, साहित्य, कला र संस्कृति कुनै व्यक्ति, पार्टी, समूहप्रति केन्द्रित हुनु हुँदैन । यहाँ नेपालमा कलाकारको अभियन, लेखकको रचनाका आधारमा ‘यो हाम्रो, त्यो उसको’ भन्ने प्रचलन राजनीतिक वृत्तबाट बेलाबखत आउने गरेकाले पनि त्यसको प्रभाव परेको हुन सक्छ । तर, वास्तविकतामा यस्तो हुनु दुर्भाग्य हो । तर, एउटा कुराचाहिँ साँचो हो, कुर्सीका लागि, पैसाका लागि ओहदाका लागि, मान–सम्मानका लागि आफूलाई निकै चर्चित ठान्ने, वरिष्ठ ठान्नेहरु छेपारोले रङ फेरेझैं आफ्नो बसेरा फेर्दै हिँडेको चाहिँ मैले पनि देखेको छु । यहाँ मै हुँ भन्ने सर्जक पनि ‘शेर घाँस नही खाता’ भन्ने उखानझैं आफ्नो सिद्धान्तमा बसेको मैले देखेको छैन । मैले सबैलाई अवसरको खोजीमा रहेको पाएको छु । जति ठूला कुरा गरे पनि यस्तो प्रवृत्तिमा वरिष्ठ भन्ने व्यक्तिलाई म त दरिद्र नै भन्न रुचाउँछु ।

नेपाली गीत–सङ्गीतलाई विश्व गीत–सङ्गीतको दाँजोमा कहाँनेर पाउनुहुन्छ ?
हिजोको दिनमा चाहिँ नेपाली गीत–सङ्गीतलाई विश्वसामु परिचय गराउने उद्देश्यका साथ नेपालमा आएका विभिन्न देशका पर्यटकहरुले नेपाली बाँसुरी, मादलका लोकधुनहरु आफ््नो देशमा पु¥याएका र प्रचारप्रसार गरिएको यदाकदा सुन्न पाइन्छ । ‘रेशम फिरिरि, रेशम फिरिरि’ बोलको गीतदेखि धुनसम्म युरोपतिर अहिले पनि निकै चर्चामा रहेको छ । तर, अहिले त्यस्ता सिर्जना हुँदा पनि भएनन्, चर्चाको विषय पनि बनेनन् । बिस्तारै विश्वबजारमा भित्रिन लागेको नेपाली गीत–सङ्गीतलाई मुन्टैसमेत निमोठेर सबै नयाँ नेपालतिर लागे । अब त आफ्नै देशमा आफ्नै गीतको पहिचान गराउनुपर्ने भएको छ कि एकदेखि सात प्रदेशसम्मका गीत–सङ्गीत यी र यस्ता हुन् भनेर । योभन्दा दुःखदायी क्षण कहिले आउँछ नेपाली गीत सङ्गीतको फाँटमा ? सोचनीय कुरा छ ।

घरपरिवारबाट तपाईंको लेखनलाई कत्तिको सर्पोट मिलेको छ ?
मेरो घरपरिवारबाट मेरो सिर्जनात्मक कार्यमा कुनै रोकावट छैन । ऊर्जा मिलेकै छ ।

अवार्ड प्राप्त गरिरहेका गीत–सङ्गीतका बारेमा तपाईंको धारणा के छ ?
उत्कृष्ट सिर्जनाको खोजतलास र मूल्याङ्कन नै नगरी बोराभरि पैसा बोकेर जानेलाई भनेजति र भनेजस्तो अवार्ड दिने परम्पराको थालनी गर्ने व्यापारी, दलालहरुलाई सोध्नुपर्ने प्रश्न मतिर चिप्लिएर आएछ । यस्ता अवार्ड र अवार्ड धनीहरुका बारेमा नबोलूँ क्यारे ।

आफूले अहिले बिताएको यो जीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पूर्णरुपले सन्तुष्ट छु । धन्यवाद यो जीवन दिने मेरा माता–पितालाई अनि भगवान् श्रीकृष्णलाई ।

स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असफल मानिस ? आफ्नो प्रतिविम्बन आफैँले गर्नुहोस् त ?
आफ्नो मूल्याङ्कन आफैँ गर्दा अभिमान जागृत भएको हो कि जस्तो देखिने हुँदा मूल्याङ्कनचाहिँ नगरुँ । तर, म आफू सफल मानिसभित्र पर्छु जस्तो चाहिँ लाग्छ ।

लेखनमा आउन लागेका नयाँ लेखकहरुलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
आफ्नो निजी स्वार्थभन्दा माथि उठी, आफ्नो नामका खातिर भन्दा देशको लागि उत्कृष्ट लेखनयात्रा प्रारम्भ गर्न र बजारीयाभन्दा अजम्बरी लेखनयात्रामा लम्किन म सबैलाई आग्रह गर्दछु ।

यसमा तपाइको मत

अन्य समाचार