‘छ माया छपक्कै’को औपचारिक घोषणा

काठमाडौं,
वैशाख १६ ।

चलचित्र ‘छ माया छपक्कै’ औपचारिक घोषणा गरिएको छ । निर्माण टिमले आज राजधानीको होटल सोल्टीमा एक कार्यक्रमकाबीच चलचित्रको औपचारिक घोषणा गरेको हो ।

दीपेन्द्र लामाको निर्देशनमा बन्ने यो चलचित्रको घोषणा कार्यक्रममा अभिनेत्री केकी अधिकारी, कलाकार दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए । प्रहसनमार्फत् चलचित्रको मुल कथा प्रट्याइएको थियो । चलचित्रले शहरमा हुर्किएकी एक युवती र एक सोझो अर्धबैशे पुरुषबीचको प्रेमकथा प्रस्तुत गर्ने छ ।

दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेको चलचित्रमा केकी र दीपकराजको जोडी बाँधिएको छ । केदार र जितुको पनि प्रमुख भूमिका रहनेछ । बाँकी कलाकार केही दिनमा छनोट हुने निर्देशक लामाले जानकारी गराए । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा रोहित अधिकारी निर्माता रहेका छन् । जितु र केदार चलचित्रका कार्यकारी निर्माता हुन् ।

चलचित्रमा हरि हुमागाइँको छायाँकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको सङ्गीत कविराज गहतराजको कोरियोग्राफी विपिन मल्लको सम्पादन रहने छ ।

दीपकराजको पटकथा संवादमा रहने चलचित्रमा दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् संवादमा ।  दशैंमा प्रदर्शनमा आउने यो चलचित्र ‘छक्का पञ्जा ४’ नभएको दीपकले स्पष्ट पारेका छन् । पुरानै टिम दोहोरिएको भएता पनि चलचित्रको कथा फरक रहेको उनको भनाई छ ।

यसमा तपाइको मत

अन्य समाचार