काठमाडौं,
वैशाख ११ ।
विश्वभर विभिन्न एयरलाइन्सबाट उडान भर्ने नेपाली वा विदेशीले उडान अवधीभर विभिन्न भाषाका चलचित्र हेरेर मनोरञ्जन लिइरहेका छन् । तर, नेपाली चलचित्र यस्ता उडानमा हेर्न नपाउँदा दर्शकले खल्लो मान्छन् । तर, अब यूएइको एक एयरलाइन्सले भने नेपाली चलचित्र खरिद गर्न थालेको छ ।
नेपाल फ्लिक्सले युएइको एक लिडिङ एयरलाइन्ससँग नेपाली चलचित्र प्रदर्शन गर्नेगरि सहमती गरेको छ । यसको सुरुवात नेपाली चलचित्र ‘हरि’बाट गरिदैछ ।
एयरलाइन्सकै आग्रहमा एयरलाइन्सको नाम भने खुलाइएको छैन । काठमाडौं र विश्वका विभिन्न देशबाट यो एयरलाइन्सबाट उडान भर्दा दर्शकले ‘हरी’ चलचित्र हेर्न पाउने भएका छन् ।
सन् २०१९ को मे महिनाबाट ‘हरि’ चलचित्र उपलब्ध हुनेछ । नेपाल फ्लिक्स’ एक अनलाइन स्ट्रिमिङ प्लेटफर्म हो जसले इन्टरनेटसँग जोडिएका दर्शकलाई सजिलैसँग र सस्तो रुपमा गुणस्तरको स्थानिय सामाग्री उपलब्ध गराउँदै आएको छ ।
यसरी अन्तरर्राष्ट्रिय उडानमा नेपाली चलचित्र देखाउने क्रम बढ्दै गएको खण्डमा नेपाली चलचित्रका निर्माताले आम्दानीको नयाँ स्रोत पनि पाउनेछन् भने नेपाली चलचित्रको प्रचार विश्वाव्यापी रुपमा पनि बढ्नेछ ।
अन्य चलचित्रका मेकरसँग पनि यो बिषयमा कुराकानी भइरहेको नेपाल फ्क्लिसका कन्ट्री म्यानेजर सार्थक जिसीले बताएका छन् ।






