काठमाडौं,
चैत्र ३ ।
चैत १५ देखि प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको घोषणा गरेको छ । शनिबार राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
चैत १५ गतेबाट सुरु हुने पहिलो चरणको आन्दोलन वैशाख ८ गते सकिने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । प्रमुख श्रेष्ठका अनुसार १६ गतेसम्म प्रचारप्रसार, १७ गतेदेखि २३ गतेसम्म देशब्यापी हस्ताक्षर सङ्कलन अभियान राखिएको छ ।
यस्तै चैत्र २५ गते सिंहदरवार अगाडी, प्रदेश राजधानीमा र जिल्ला सदरमुकाममा १ घण्टे धर्ना कार्यक्रम राखिएको छ । चैत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, वैशाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको ब्यानर/प्लेकार्ड जलाउने र वैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहको कार्यक्रम राखेको छ ।
पहिलो चरणको सङ्घर्ष सकिएपछि लगत्तै सङ्घर्षको उचाई र सशक्तता बढाउँदै दोस्रो र तेस्रो चरणको कार्यक्रम तयार गरिने राप्रपाले जनाएको छ । यसैबीच मागहरु पुरा गर्नेबारे सरकार सकारात्मक रुपमा प्रस्तुत भए सरकारसँग वार्ताको ढोका सदैव खुला राखिने राप्रपाले बताएको छ ।
बेठकमा राप्रपा पार्टीले गत फागुन १५ गते ताप्लेजुङ्गबाट शुरु गरी चैत १ गते सम्पन्न गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा आमजनताबाट प्राप्त उत्साहपूर्ण सद्भाव, समर्थन र ऐक्यवद्धता पाएको पनि बताएको छ ।






