‘प्रेमनाथ’को ट्रेलर तथा फस्टलुक सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं,
पौष १९ ।

चलचित्र ‘प्रेमनाथ’ को ट्रेलर तथा फस्टलुक सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर तथा फस्टलुक रिलिज गरिएको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका सबैजसो कलाकारलाई देखाइएको छ । त्यस्तै, ट्रेलर पनि अन्य चलचित्रको फरक खालले निर्माण गरिएको छ । करिब तीन मिनेटको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सका दृश्यले प्रथामिकता पाएका छन् । ट्रेलर साउथ इन्डियन फिल्मको झल्को दिने खालको रहेको छ ।

गणेश बेलवासेले निर्देशन गरेको यो चलचित्रमा २५ सय वर्ष अगाडिको प्रेमकथा दाबी गरिएको छ । २२ चैत्रबाट प्रदर्शनमा आउने चलचित्रबाट कृति गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन् ।

यस चलचित्रममा गजित विष्ट, सुरवीर पण्डित, कमल गाउँले, नवीन श्रेष्ठ, पूजा रिजाल, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, सिर्जना राई लगायतका कलाकारको अभिनय छ ।

लुम्बिनी, रोल्पा, लखनउ, दाङ, काठमाडौंलगायतका स्थानमा छायाँकन गरिएको यो चलचित्रका निर्माता गुहेश्वरी बेलबासे हुन् । कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेको यसमा सह–निर्माताको रूपमा वसन्तराज भट्ट र मिलन राई रहेका छन् ।

चलचित्रको काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएको र काठमाडौं उपत्यकामा गोपाल कायस्थले वितरण गर्ने निर्माण पक्षले जनाएको छ । त्यस्तै, भारतमा वितरणको जिम्मा वर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका छन् ।

यो चलचित्र अहिलेसम्म प्रयोग भएका अन्यभन्दा फरक प्रेमकथाको विषयमा निर्माण गरिएको निर्देशक बेल्वासेले दाबी गरे । उनले एक्सन र प्रेमकथाले भरिएको फिल्म दर्शकको रुचिमा पर्ने जिकिर गरे ।

निर्माता गुहेश्वरी बेलवासेले चलचित्र निर्माणमा कुनै पनि कन्जुस्याइँ नगरिएको दाबी गरिन् । त्यसैगरी चलचित्रका कलाकार मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल लगायतले आफ्नो भूमिका र अभिनयका बारेमा चर्चा गरे ।

चलचित्रमा द्वन्द्व निर्देशक भरत क्षेत्री तथा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको संगीत रहेको छ । नृत्य निर्देशन रजिन पाठक हुन् । गीतमा राजेश पायल राई, भुपु पाण्डे, बेनुका राई, सूची पन्थी, अञ्जली पटेल, रेयापे दाजु र चित्रवीर जिसीको स्वर छ भने छायाँकन सुमिन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार