‘बाँसै काटेर’ भन्दै आए दिनेश (भिडियोसहित)

काठमाडौं,
पौष १३ ।

दिनेश गौतमको स्वरमा रहेको फरक शैलीको गीत सार्वजनिक भएको छ । उनको स्वरमा रहेको डान्सिङ नम्बर ‘बाँसै काटेर’को भिडियो सार्वजनिक भएको हो ।

भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य म्युजिक भिडियोमा रहेको छ । सङ्गीतकार तथा सङ्गीतकार सङ्घका पूर्व अध्यक्ष लक्ष्मण शेषले गायन देखि नृत्य र भिडियो निर्देशनको उत्कृष्ट नमूनाको रुपमा यस म्युजिक भिडियोलाई लिन सकिने बताए । नेपालको पहिलो सेक्सोफोन वादक शुभबहादुर सुनामले दिनेशको सङ्गीत साधना र गायकीको प्रशंसा गरे ।

करिब दुइ दशकदेखिको सङ्गीत यात्रामा दिनेशले गाएका गीतभन्दा ‘बाँसै काटेर’ बिलकुलै भिन्न छ । समयको माग अनुसार केहि फरक शैलीको गीत प्रस्तुत गर्न डान्सिङ नम्बर गाएको दिनेशले बताए ।

कोशिस क्षेत्रीको शब्द सङ्गीत रहेको ‘बाँसै काटेर’ गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन् । ‘भिमफेदी गाइज’का टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा रोचक प्रस्तुति ‘फुलन्देकी आमा’ को रहेको छ । गीतको भिडियोमा ‘आरी डान्स’, ‘थाली डान्स’ देख्न पाइन्छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् ।

२०५६ सालदेखि सङ्गीतमा निरन्तर लागि परेका दिनेशका एघार वटा साङ्गीतिक एल्बम बजारमा आइसकेका छन् । दुइ दशकको दौरानमा उनले एल्बम र चलचित्रमा गरेर दुइ सय भन्दा बढि गीत गाइसकेका छन् । दिनेशको सङ्गीतमा भारतीय गायक शान र राजा हसनले समेत गीत गाइसकेका छन् । ‘पैसा कसले बनायो’ गीत गाएपछि चर्चामा आएका दिनेशको एक महिना अघि मात्रै ‘फर्केर आएन मायालु’ गीत सार्वजनिक भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार