काठमाडौं,
पौष ११ ।
संघीय संसद्को अधिवेशन बुधबार (आज)देखि सुरु हुँदैछ । दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
विधेयक अधिवेशनका रूपमा परिचित यो अधिवेशन कार्यसूचीका हिसाबले महत्वपूर्ण दायित्वका साथ सुरु हुँदैछ ।
संघीय संसद्को अधिवेशन सुरु भएको पहिलो एक वर्षभित्र संविधानसँग बाझिएका कानुन परिमार्जन गर्नुपर्ने जिम्मेवारी सदनसमक्ष छ । सरकारले शुक्रबारमात्र संविधानसँग बाझिएका ५५ वटा ऐन एकैपटक संशोधन गर्नेगरी केही नेपाल ऐन संशोधन पनि दर्ता गरेको छ । अन्य विधेयक दर्ताका क्रममा छन् ।
कानुन मन्त्रालयको अध्ययनअनुसार मौजुदा ३३९ वटा ऐनमध्ये १७४ कानुन परिमार्जनको आवश्यकता छ । यस्तै, ३८ वटा नयाँ कानुन अबको अधिवेशनले पारित गर्नुपर्नेछ । ती ३८ मध्ये केही कानुन भने हालै पारित भएकाबाटै सम्बोधन हुनसक्ने अवस्था रहेको पनि मन्त्रालयको निक्र्यौल छ ।
संसद् अधिवेशन आह्वानसँगै संघीय संसद्का दुबै सदनले पहिलो दिनको कार्यसूची तय गरेका छन् । दुबै सभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकले दैनिक कार्यसूची तय गरेको हो । दुबै सदनमा अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको अधिवेशन आह्वान पत्र पढेर सुनाइनेछ । यस्तै, अधिवेशन नभएको अवस्थामा सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेश पनि सदनका दुबै बैठकमा पेस हुनेछ । संवैधानिक प्रावधान अनुसार अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्बाट अध्यादेश प्रतिस्थापन हुनुपर्नेछ ।






