दोलाखा,
पौष ११ ।
लेबनानमा कार्यरत सिन्धुपाल्चोक निवासी मञ्जु मोक्तानले आफ्नो जन्मदिन पारेर शैक्षिक सामाग्री सहयोग गरेकी छन् । उनले दाेलखास्थित सैलुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयमा सोमबार आयोजित विशेष समारोहमा शैक्षिक सामाग्री सहयोग गरेकी हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकाजी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लालमाया योन्जनले विद्यालयको समग्र विकासमा सबै तह, अभिभावक, शिक्षक एवम् विद्यार्थी लागिपरेमा शैक्षिक गुणस्तर सुनिश्चित हुने बताइन् ।
यसैगरी वडाध्यक्ष बिर्खबहादुर मोक्तानले बोर्डिङले विद्यार्थीलाई अल्छी बनाइरहेको बेलामा यस्तो सामुदायिक विद्यालयले जाँगारिला र अब्बल विद्यार्थी उत्पादन गरेका छन् । यसर्थ सरस्वतीमा पढेका विद्यार्थी शिक्षक हुँदै एमबिबिएस अध्ययन गर्नेसम्मका भएकोमा गर्व गरे ।
कार्यक्रममा एकमात्र तामाङ भाषिक साहित्यिक पत्रिकाको सम्पादक एवम् प्रधानसम्पादक इन्द्रकुमार तामाङले बालबालिकालाई मातृभाषामा शिक्षा दिलाउने हो भने तामाङ संस्कार संस्कृति नहराउने बताए ।
वडासदस्य उर्जोम तामाङले विद्यालय स्थापना समयमा संस्थापक स्व. सिरबहादुर घिसिङले चोयाको मान्द्रोले बेरेर प्रारम्भ भएको इतिहास सुनाइन् । उनले थपिन्–तत्कालीन समयमा आफूले अध्ययन गर्न सहज वातावरण नपाएकोले निरक्षर हुनुपरेको दुखेसो सुनाइन् ।
कल्लाबारी माविका प्रधानाध्यापक चन्द्रलाल घिसिङले अहिले गाउँपालिकाले विद्यार्थीलाई खाजा व्यवस्थापन गरेकोले यही उत्पादित वस्तु मात्रै खुवाउनुपर्ने बताए । उनले थपे बालमैत्री वातावरणमा विद्यार्थीलाई अध्यापन गर्नुपर्नेमा जोड गरे । प्रवासी तामाङ समाज कतारको महिला विभागीय उपप्रमुख अस्मिता घिसिङले फेरि पनि सकेको सहयोग जुटाइदिन प्रयासरत रहने प्रतिबद्धता गरिन् ।
विद्यालयका प्रधानाध्यापक राम घिसिङले स्वागत तथा रामबहादुर योन्जनद्वारा सञ्चालन गरिएको हस्तान्तरण कार्यक्रममा संयोजक एवम् सैलुङ अनलाइनका प्रबन्ध निर्देशक नवराज योन्जन, तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङ, शिक्षक, अभिभावक संघका अध्यक्ष साङबहादुर घिसिङ, नेकपा पालिका सदस्य छोनाम्गेल मोक्तान, सिबिस नेपाल जिल्ला प्रतिनिधि तारा घिसिङ, पालिका सुपरभाइजर भिजन मोक्तानलगायतले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए ।
सहयोगी मनहरू प्रवासी तामाङ समाज कतार, दुबईबाट सञ्जिता मोक्तान, समाजसेवी चन्द्रबहादुर घिसिङ, सुकबहादुर तामाङ र लेबनानबाट मञ्जु मोक्तान रहेका छन् । ३६ जना विद्यार्थीले प्रतिव्यक्ति एक थान स्वेटर, टोपी र कापी एक दर्जन पाएका थिए ।
यसैबीचमा आर्थिक अवस्था कमजोर र जेहेन्दार तीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कक्षा एक का विशाल घले, कक्षा दुई का पवित्र घले र कक्षा तीनका सनिता योञ्जन रहेका छन् । उनीहरुले प्रतिव्यक्ति तीन दर्जन कापी, एक दर्जन डट्पेन, एक दर्जन सिसाकलम, दुई थान पोशाक, एक थान स्वेटर र टोपी पाएका छन् । कार्यक्रममा विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति गरेका थिए ।






