काठमाडौं,
मंसिर २९ ।
अनुश्री पाख्रिनको प्रस्तुति रहेको एल्वम ‘नाता’ सार्वजनिक भएको छ । गीतकार एवम् एसपी टेक तामाङको चौथो गीतिएल्वम अनुश्री पाख्रिनको प्रस्तुति रहेको ‘नाता’ विशेष समारोहबीच शुक्रबार सार्वजनिक भएको हो ।
नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित समारोहमा सार्वजनिकगरिएको एल्वममा ८ वटा गीत समावेश रहेका छन् ।
कार्यक्रम साहित्यकार उषा शेरचनको सभाध्यक्षता र गीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सोही समारोहमा एल्वममा समाविष्ट दुई म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । अञ्जु पन्तद्वारा स्वरबद्ध र अभिनित ‘तिमीलाई माया गर्छु….’ र मेलिना राईको स्वर रहेको ‘नजिकयति….’ भिडियो प्रदर्शन गरिएको थियो ।
भिडियो सार्वजनिकलगत्तै समिक्षक गीतकार भुपाल राईले अप्रासंगीक गीतमा अनुप्रास मात्रै मिलाउने परम्परागत ढर्रालाई तोडेर उत्कृष्ट शब्द विम्बल्याउन सकेकोमा गीतकारलाई बधाई दिए । उनले थपे– सुगम संगीतमै रहेर सामाजिक जागरणका गीतहरू पनि लेखिनुपर्ने सुझाए ।
यसैगरी बरिष्ठ साहित्यकार पूर्व अर्थमन्त्री एसपी कोइरालाले साहित्यकै विधाको गीत लेखनलाई निरन्तरता दिएर साहित्यिक इट्टा थपेकोमा तत्कालीन आफ्नो विद्यार्थी तामाङ प्रति गर्व गरे ।
समारोहमा संगीतकार बुलु मुकारूङ, गीतकार राजेन्द्र थापा, गीतकार संघ नेपालको अध्यक्ष चुडामणि देवकोटा, पूर्व डिआइजी देवीलाल तामाङ, समाज सेवी चन्दा थापा तामाङलगायतले शुभकामना व्यक्त गरेका थिए । सोही क्रममा गायिका र संगीतकारलाई प्रस्तुतकर्ता अनुश्रीले सम्मान गरेका थिए ।
एल्बममा रहेका गीतमा ‘तिमीलाई… स्वर अञ्जु पन्त, संगीत अर्जुन पोखरेल, मन पर्छ… स्वर संगीता राना प्रधान, संगीत किशोर खतिवडा, स्वर्ग सुख…. स्वर मेलिना राई, संगीत कन्काइष्ट राईको रहेका छन् ।
यसैगरी अंगालोमा बेरिरहु… स्वर अञ्जु पन्त, संगीत पावल चाम्लिङ, ढिलो चाँडो… स्वर जिना रसायली र संगीत कन्काइष्ट राई, नजिक यति… मेलिना राई, संगीत कन्काइष्ट राई, झर्न खोज्ने… दिपालामा र संगीत कन्काइष्ट राई र सैलुङकै पाखामा… ओंङ्बु लामा र संगीत बुद्ध स्याङ्बा लामा’को रहेका छन् । कार्यक्रम गीतकार विपिन किरणले सञ्चालन गरेका थिए ।






