काठमाडौं,
मंसिर २८ ।
चलचित्र बुलबुलको टिजर सार्वजनिक भएको छ । स्वस्तिमा खडकालाई टेम्पो ड्राईभरको भुमिकामा अभिनय गराएर चर्चामा आएको चलचित्र बुलबुलको टिजर सार्वजनिक भएको हो । ४५ दिन अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ ।
चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भुमिकामा देखिदै आएकी नायिका स्वस्तिमा खडकाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । साथै देखिएका नवनायक मुकुन भुसालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ ।
आगामी फागुन तीन गते भ्यालेन्टाइनको छेको पारेर प्रदर्शनमा आउने चलचित्र बुलबुलको खुद्राखाद्री मायाले बोलको गीत पनि स्रोता÷दर्शकको रोजाइमा परेको छ ।
चलचित्रका निर्देशक विनोद पोडेलले पटकपटक बुलबुल चलचित्र मार्फत स्वस्तिमा खडकाको अभिनयमा नयाँ अवतार देखिने र चलचित्र उद्योगले एक सशक्त नवनायक पनि पाउने दावी गर्दै आएका छन् । नायिका स्वस्तिमा खडकाले स्वयम्ले पनि यो चलचित्र आफनो करियरकै कोशेढुंगा हुनेमा ठुलो आशा राखेको बताएकी छिन् ।
चलचित्रका निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु क्रमश सार्वजनिक हुँदै जाने र चलचित्रमा रहेको अर्को एक दमदार गीत पनि छिटै सार्वजनिक गरिने बताए । बुलबुलका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायाँकन सुसन प्रजापतिले गरेका छन् ।
चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय रहेको छ । चलचित्रको सङ्गीत कोशिस क्षेत्री र उदगम परियारले दिएकाछन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।






