एकसाथ दुई एल्बम लिएर आइन राखी

काठमाडौं,
मङ्सिर ३ ।

अमेरिकाको क्यालिफोर्नियामा बसेर साहित्य साधना गर्दैआएकी कवि तथा गीतकार राखी गौचन हालै एकैसाथ आधुनिक गीतका दुई एल्बम ‘जानी नजानी’ र ‘परिभाषा’ लिएर बजारमा आएकी छन् । छ वटा गीत रहेको ‘जानी नजानी’ एल्बममा गायिका बानीका प्रधानको सुमधुर स्वर रहेको छ ।

एल्बममा चार जना सङ्गीतकारले सङ्गीत दिएका छन् । ‘जानी नजानी’ तथा ‘मान्छे हुँ’ बोलको गीतमा दिनेश सुब्बा, ‘नभेटेको मान्छे’ तथा ‘म आगो बोकेर’मा हरि लम्साल, ‘यो सुन्दरता’मा सुरजकुमार थापा, र ‘कहाँ बिरायौ’मा आशकुमार राईको सङ्गीत रहेको छ ।

यसै गरी पाँच वटा गीत समावेश गरिएको एल्बम ‘परिभाषा’का सबै गीत गायक सुरजकुमार थापाले गाएका छन् भने सङ्गीत पाँच जनाले गरेका छन् । ‘जति छन्’ बोलको गीतमा सुरजकुमार थापा, ‘नामबिना’ बोलमा नारायण सुवेदी, ‘भनौँ भने’मा नरबहादुर दाहाल, ‘नपढ आज’ बोलको गीत नारायण ओली, र ‘खाली हुँदा’ बोलको गीत किरण कँडेलद्वारा सङ्गीतबद्ध छन् । सबै गीतका सङ्गीत संयोजक किरण कँडेल रहेका छन् ।

केही वर्षअघिमात्र ‘म मातिएको बेला’ बोलको पहिलो गीत यम बरालको सङ्गीत र सपनाश्रीको स्वरमा रेकर्ड गराएर गीत लेखनमा समर्पित भएकी राखीका यस अवधिमा दर्जनौँ गीत रेकर्ड भइसकेका छन् ।

स्कुले जीवनदेखि नै नाच्न, गाउन, अभियन गर्न र कविता लेखनमा औधि रुचि भएको बताउने राखी हाल सिर्जनाकर्ममै समर्पित रहेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार