काठमाडौं,
आश्विन ९ ।
दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी असोज ९ (आज) अग्रीम टिकट बुकिङ खुला हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सोमबार बसेको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।
भदौ ३१ गते देखियातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि आजदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको समितिले जनाएको छ ।






