मौसम परिर्वतनसँगै रूघा-खोकी

  • नवीन किरण भुसाल

मौसम परिर्वतनसँगै प्रायः सबैलाई रूघा–खोकी लाग्ने गर्दछ । रूघा सामान्य रोग भए पनि यसले सताएपछि कत्तिको हैरानी व्यहोर्नुपर्छ भन्ने कुरा रूघा लागेको बेलामा मात्रै थाहा हुन्छ । संसारमा सायदै त्यस्तो व्यक्ति होला, जसलाई जिन्दगीको कुनै न कुनै बेला रूघा नलागेको होस् । भाइरसका कारणबाट हुने यो समस्यालाई common cold पनि भनिन्छ ।

रूघा लागेको व्यक्तिले हाँच्छ्यू गर्दा उडेका स–साना जीवाणुहरु स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रूघा लाग्ने सम्भावना हुन्छ । रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, खाना नखाएको बेलामा रूघा लाग्ने सम्भावना बढी हुन्छ ।
रूघा लागेको व्यक्ति कोठाका झ्याल-ढोका लगाएर बस्दा जीवाणुहरु त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रूघा फैलिने भएकाले यसका विरूद्ध खोप तयार पार्न पनि गाह्रो छ । संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुने गरी कुनै औषधि बनाउन सकिएको छैन । कतिले एन्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर, रूघा निको पार्ने औषधि छैन । रूघा लागेको बेला निम्न कार्यहरु गर्न जरूरी हुन्छ:-

रूघा लागेको व्यक्तिको संसर्ग गर्नु हुँदैन । रूघा लागेका व्यक्तिको नजिक वा मुखामुख हुने गरी बस्नु हुँदैन । यदि बस्नुपरेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ । यसैगरी रूघा सङ्क्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नु हुँदैन ।

भिटामिन सी पाइने अमला, कागतीजस्ता मौसमी फलफूलहरुको प्रयोगले शरीरमा भिटामिन सीको आपूति हुन सक्छ । भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।

रूघा लाग्नुभन्दा अघि धेरैजनालाई नाक र घाँटीमा के–के खसखस भएजस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी (विशेषगरी कागती हालेर) पिउनुपर्छ । पानीको पर्याप्त प्रयोगले जीवाणुहरु पिसाबबाट चाँडै बाहिर निस्कन्छन् । पानी पिउन मन नलागे तरकारीको तातो सूप प्रशस्त मात्रामा पिउनुपर्छ । रूघा लाग्दा प्रायः खानामा रूचि घट्ने हुनाले सूपको प्रयोग गर्नाले शरीरलाई चाहिने केही पोषण तत्व पनि प्राप्त गर्न सकिन्छ । यस्तो बेलामा शारीरिक रुपमा धेरै थाक्ने काम नगर्दा नै छिटो आराम मिल्दछ ।

घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नून हालेर घाँटीमा गारगल (कुल्ला) गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५–६ चोटी, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको बेला कुल्ला गर्नुपर्छ । यसले घाँटीको दुखाइ र सङ्क्रमण पनि कम गर्छ । पानीमा अलिकति ज्वानो हालेर कुल्ला गर्दा पनि फाइदा गर्छ ।

घाँटी दुखेका बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनवटा फाइदा हुन्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले थोरै भए पनि क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केही कम गर्छ । धेरैले यसमा अदुवाको टुक्रा पनि हाल्छन् । अदुवा पानीको भिन्नै काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।

सम्भव भएमा त पूरा जीउ नै तातोपानीको वाफमा राख्न सके वा तातोपानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रूघा लाग्दा सूक्ष्म जीवाणुहरुको विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ । पानी उमालेर वाफ लिन पनि सकिन्छ । कतिपयले पानीमा वासना आउने सञ्चो या टिन्चर बेन्जिन पनि हाल्छन् । यसरी वाफ लिँदा नाकमा वासना आई सुँघ्न आनन्द आउने र वाफले नाक खोल्ने हुँदा सास लिन सजिलो हुन्छ ।

रूघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन तर टाउको दुखेको, जीउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोलजस्ता औषधिहरु प्रयोग गर्न सकिन्छ । यसले आराम पुर्याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जीउलाई धेरै आराम हुन्छ ।

तुलसीको पात र दानालाई २–३ गिलास पानीमा उमालेर आधा गिलास भएपछि पिउनाले धेरै फाइदा गर्छ । घरैमा पाइने तुलसीको पात आजकल चियाका रुपमा पनि बजारमा आउन थालेको छ ।

खोकी बढी नै लागेमा, ज्वरो बढेमा, श्वास फेर्न गाह्रो भएमा चिकित्सकको सल्लाह लिन ढिला गर्नुहुँदैन । रूघा–खोकी त हो नि भनेर बसिरहने हो भने अन्य समस्या आउन सक्छ । त्यसैले चिकित्सकको सल्लाह लिनु जरूरी हुन्छ ।
प्रस्तुतिः

यसमा तपाइको मत

अन्य समाचार