काठमाडौं,
भाद्र १९ ।
चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा बनेको उक्त पहिलो अंग्रेजी सिनेमाको छयाँकन हलिउड नगरी लस–एन्जल्ससहित काठमाडौंमा गरिएको थियो ।
आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा ट्रेलर–पोस्टर सार्वजनिक गरिएको थियो । थिम पोतिएको पोस्टरमा चलचित्रका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ । ट्रेलर आकर्षक लाग्छ ।
निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ चलचित्र रिलिज गर्ने तयारीमा आफूहरु जुटेको बताए । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिन अहिले अमेरिकामा छन् । केही स्टुडियोसँग रिलिजबारे छलफल भइरहेको जानकारी उनले दिए ।
नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको उनको कथन छ । भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी चलचित्रको वितरणमा चासो व्यक्त गरेको उनले जनाए ।
पेमा धोन्डुप निर्देशक हुन् । उनी निर्देशित चलचित्र ‘वी आर नो मंक्स’ (२००४)ले सुखद समिक्षा प्राप्त गरेको थियो । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए ।
चलचित्रले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’
‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर चलचित्रको कथा बुनिएको हो’ धोन्डुपले भने ।
चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतमलगायतको अभिनय छ ।
कार्लोस मेडिनाको छायाँकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी छ ।






