काठमाडौं,
भाद्र १७ ।
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको शनिबार भएको प्रथम साधारण सभाले नयाँ कार्यसमितिको अध्यक्ष पदमा के.पी.पाठकलाई सर्वसम्मत चयन गरेको छ । शनिबार काठमाडौंको निम्तो रेष्टुराँमा सम्पन्न प्रथम साधारण सभाले सात सदस्यीय नयाँ कार्यसमिति चयनकोलागि गरेको निर्वाचनमा उपाध्यक्ष पदमा विजयरत्न तुलाधर, महासचिव राजु के.सी., सचिव राजु भण्डारी, कोषाध्यक्ष कमलप्रसाद शर्मा अनि सदस्यहरुमा विश्वराज सापकोटा र रसिक पाठकलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
शनिबार सम्पन्न साधारण सभामा नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको साधारण सभामा तदर्थ समितिका अध्यक्ष के.पी.पाठकले यो प्रतिष्ठानको उद्देश्यमाथि प्रकाश पार्दै विश्वको चलचित्रलाई नेपाली चलचित्र जगतसँग सुपरिचित पार्ने र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय चलचित्र जगतसँग परिचित पार्दै लाने कुरा बताए । यही उद्देश्य परिपुर्तिकालागि गत वर्षदेखि नै प्रतिष्ठानले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्न थालेको कुरा पनि बताए । सो साधारण सभामा तदर्थ समितिका सचिव राजु भण्डारीले प्रतिष्ठानको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमलप्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै सो प्रतिष्ठानले यही आउने फागुन महिनामा सम्पन्न गर्ने लक्ष्य लिईएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करणका लागि विश्वका विभिन्न देशबाट प्राप्त हुने चलचित्रहरु छनौट गर्नकालागि चलचित्र पत्रकार, निर्देशक एवम् सोही प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका विजयरत्न तुलाधरको संयाजकत्वमा गठन गरिएको छनौट समितिलाई शनिबार नै स्वागत गर्दै पदभार समेत जिम्मा हस्तान्तरण गरिएको थियो । उक्त छनौट समितिमा वरिष्ठ सुचना प्रविधीविज्ञ करुण थापा, ध्वनिविद् आलोक तिवारी, चलचित्र निर्देशक रामराजा दाहाल, चलचित्र छाँयाकार शबनम मुखिया, साहित्य समालोचक अभय श्रेष्ठ र चलचित्र पत्रकार सुशील पौडेल सदस्य रहेका छन् ।






