यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह

– मनमोहन खडायत काश्यप

यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । मर्यादा पुरुषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रह्माजी, महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रुकर््िमणी, माता सरस्वती, देवी कुन्ति सतिसाध्वी द्ररौपदी आदि सबै नरनारीहरु जनै धारण गर्दथे ।
यद्यपि आजकाल नारिले यो जनै धारण गर्ने परम्परालाई विस्थापीत गरियो जुन न्यायसंगत छैन साथै वैदीक परम्परा विपरित पनि छ ।

कुनै पनि राष्ट्रको राष्ट्रिय झण्डा हुन्छ त्यसमा आफ्नो राष्ट्रियता झल्कने एक विशिष्ट चिन्ह हुन्छ, एक विशेष अभिप्राय हुन्छ र त्यस झण्डाको मर्यादा तथा रक्षाका निम्ति त्यस देशका नागरिकहरुले आफ्नो प्राणको समेत आहुति दिन्छन् । त्यसैगरी जनैको पनि एक गहीरो रहस्य छ, एक विशिष्ट अभिप्राय र मर्यादा तथा एक पावन सन्देश छ ।

यसमा तीन दण्ड अर्थात् तीन डोरा, नौ सूक्ष्म तन्तु र पाँच शिखा वा गाँठा हुन्छन् जसलाई पञ्चशिखा भनिन्छ ।
तीन मात्र डोरा किन ?

एउटा जनैमा तीन धागा–डोरा वा सूत्र हुन्छन् । हामी कहाँ तीन संख्याको ठूलो महत्व छ । सत्व, रज र तम तीनगुण, पृथ्वी–अन्तरिक्ष र द्यूलोक गरी तीन लोक गार्हपत्य, आहवनीय र दक्षिण तीन अग्नि ईश्वर, जीवात्मा र प्रकृति आदि सत्ता पनि तीन छन् अतः जनैमा तीन डोरा हुनु सुसंगत छ ।

जनै ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहँदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम सन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा अथवा सूत्र हुन्छन् ।

जनैका तीन दण्ड (डोरा,सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ ।

तीन दण्ड सूत्रको एक अर्को पनि रहस्य छ त्यो यो हो कि कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड अर्थात् शरीर, वाणी र मनलाई संयममा राख्नु । कार्यसंयमद्वारा ब्रह्मचर्य पालन, गुरुजनहरुको आदर सत्कार, अहिंसा र तप आदि । वाणी संयमद्वारा सत्य, हितकारी र मधुर भाषण र स्वाध्याय गर्नु । मन संयमद्धारा मनका विकारहरु दूर गरी त्यसलाई शुद्ध र पवित्र संकल्पले मुक्त बनाउनु एवं सार्थक चिन्तन गर्नु । जनैधारीका लागि शरीर, वाणी र मनको यो संयम अत्यावश्यक छ ।

तीन धागामा एक अर्को रहस्य पनि लुकेको छ यो संसार त्रिगुणात्मक छ सत्व, रज र तम तीन पोयाले समस्त प्राणी बाँधिएका छन् । जनैका तीन धागाले यसैको स्मरण गराउँदछन् कि हामीले यस संसारबाट निस्कनु छ, मुक्त हुनु छ । संन्यासी संसारको माया, मोह र ममताबाट निक्लेर जान्छ । यस कारण ‘संन्यास आश्रममा’ जनै फुकालिन्छ ।

गायत्री मन्त्र
(यसमन्त्रलाई महामन्त्र, गुरुमन्त्र र सावित्री मन्त्र पनि भनिन्छ )
ओॐम् भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ।।
अर्थ:
र्भूः सत्यस्वरुप ! प्राण ! सकल जगत्को जीवनको आधार, प्राणभन्दा पनि प्रिय ! स्वयंभू !
भुवः . सर्वज्ञ ! अपान ! अशेष दुःखहरुबाट रहित ! सम्पूर्ण जीवजगतको दुःख दूर गर्ने !
स्वः आनन्द ! व्यान ! नाना विध जगत्मा व्यापक भएर सबैलाई धारण गर्ने, सबैका आनन्द साधन तथा आनन्ददाता
सवितुः सर्वजगत् उत्पादक, सर्वेश्र्वर्य प्रदाता, सकल संसारका शाषक, समग्र शुभ प्रेरणा दिने ।
देवस्य सर्व–सुखप्रदाता, कमनीय, दिव्य गुणयुक्त
वरेण्यम् . स्वीकार गर्न योग्य, अतिश्रेष्ठ , वरणीय
तत् . त्यस जगत्प्रसिद्ध
भगः . शुद्धस्वरुप, पवित्रकारक, चैतन्यमय पापनाशक तेजलाई
धीमहि . हामी धारण गरौं तथा ध्यान गरौं
यः . जो
नः . हाम्र
धियः . बुद्धिहरुलाई
प्रचोदयात् . शुभ प्रेरणा गरुन्, अर्थात नराम्र कर्महरुबाट हटाएर उत्तम कर्ममा प्रवृत्त गरुन् ।

सत्व, रज, तम, (प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोन) यी तीन गुणहरुले यो संकेत गर्दछन् कि यी तीन गुणहरु देखि माथि उठेर त्रिगुणातीत हुनुपर्दछ । माता, पिता र आचार्य यी तीन गुरु हुन् यी तीनै जनाको आदर, सम्मान र सत्कार गर्नु पर्दछ ।
जनै र ‘गायत्री’ को परस्पर घनिष्ट सम्बन्ध छ । यससँगै परमेश्वर(परमाणु)को सर्वश्रेष्ठ नाम ‘ओम्’ मा अक्षर पनि तीन छन् अ, उ र म् । महाव्याहुति पनि तीन नै छन् ‘भूः भुवः स्वः’ र गायत्री मन्त्रमा पाद पनि तीन नै छन् ‘तत्सवितुर्वरेण्यम्’ ‘भर्गो देवस्य धीमहि’ ‘धियो यो नः प्रचोदयात’ ।

शरीरमा ‘वात’ ‘पित्त’ र ‘कफ’ धातुहरु पनि तीन नै छन् । यिनलाई सम राख्नु पर्छ, समराख्नु स्वास्थ्य हो विषम राख्नु रोगी हुनु हो । शरीर पनि ‘स्थूल’ ‘सूक्ष्म’ र ‘कारण’ तीन नै छन् । यिनको विवेक गरेर आत्मालाई जान्नु पर्दछ । दुःख वा ताप पनि तीन प्रकारकै छन् ‘आध्यात्मिक’, ‘आधिदैविक’ र ‘आधिभौतिक’ । यी तीन दुःखबाट निवृत्ति हुनु पर्दछ । यिनबाट निवृत्तिको नाम नै परमपुरुषार्थ अथवा मोक्ष हो ।

‘ज्ञान’, ‘कर्म’ र ‘उपासना’ तीन साधन छन् । यी तीन साधनको रहस्य बुझेर तदनुसार आचरण गरी परमात्मा (तत्वज्ञान) प्राप्त गर्नु पर्छ ।

जनैका तीन सूत्रले एक अर्को पनि संकेत दिई रहेका छन् त्यो यो हो कि संसारमा तीन प्रकारका ऐश्वर्य छन् ‘सत्य’, ‘यश’ र ‘श्री’ जनैधारी मनुष्यले यी तीन मध्येबाट कुनै एकलाई छान्नु पर्दछ ।

जनैका तीन सूत्रले परमात्मा जीवात्मा र प्रकृति यी तीन अनादिसत्ताको सम्यक ज्ञान प्राप्त गर्ने संकेत पनि दिन्छन् । जनै धारण गरेका व्यत्तिले परमात्मा के हो त्यसको स्वरुप कस्तो छ त्यसको प्राप्ति कसरी हुन सक्दछ इत्यादि कुराहरुलाई जान्ने सतत प्रयत्न गर्नु पर्दछ । यसैगरी म को हुँ, कहाँबाट आएको हुँ, मलाई कहाँ जानु छ र मेरो जीवनको लक्ष्य के हो ? इत्यादि आत्मज्ञान सम्बन्धि समस्याहरु सुल्झाउन निरन्तर प्रयत्नशील रहने संकेत पनि यसवाट मिल्दछ । प्रकृति के हो यसबाट उपयोग लिएर मानव जीवनलाई कसरी सुखी तुल्याउन सकिन्छ आदि सनातन प्रकृतिको विविध ज्ञान प्राप्त गर्नु पर्दछ यस रहस्यलाई हृदयंगम गरी जनै धारण गर्दछ भने त्यस व्यत्तिको जनै धारण गर्नु सार्थक हो भन्ने सन्देशपनि दिई रहेको छ । ०००

यसमा तपाइको मत

अन्य समाचार