काठमाडौं,
भाद्र ७ ।
चलचित्र ‘ब्ल्याक इयर’ बन्ने भएको छ । चलचित्रको बिहिबार राजधानीको मैतिदेवी मन्दिरमा घोषणासँगै शुभ मुर्हुत गरिएको हो ।
लक्षु गौतमको निर्देशनमा बन्ने यो चलचित्रमा ०७२ सालमा आएको भूकम्पको कथा रहेको बताइएको छ । चलचित्रमा नवनायक ओकेस पनेरु र नवनायिका अनुपा खड्काको मुख्य भूमिका रहनेछ ।
खलनायकको भूमिकामा पवन भट्टराई देखिनेछन् भने देव सागर, रश्मी शाही, सुरेन्द्र बुढाथोकी, अशोक पहारीलगायतको अभिनय रहनेछ । दुईबर्ष अघि ‘त म र उ’ चलचित्र निर्देशन गरेकी लक्षुको यो दोस्रो चलचित्र हो । उनले थुप्रै म्युजीक भिडियो निर्देशन गरेकी छिन् ।
‘पहिलो चलचित्रपछि यही चलचित्रका लागि केही समय यतिकै बसे, लामोसमयको वर्कसप पछि फ्लोरमा निस्किने निधो गरेका हौं’, निर्देशक गौतमले भनिन् ‘हामीले चलचित्रमा नेपालमा आएको भूकम्पको बिषयलाई उठान गरका छौं । ०७२ सालमा आएको भूकम्पको बर्षलाई कालो बर्ष मानिएकाले चलचित्रको नाम ब्ल्याक इयर राखिएको हो ।’ यही भदौको १० गतेबाट फ्लोरमा जाने यो चलचित्रमा रामेश्वर हुमागाईंको छायाँकन रहनेछ ।






