चलचित्र ‘रोजी’को नाम परिवर्तन अब ‘रोज’

काठमाडौं,
भाद्र १ ।

यही भाद्र २२ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै गरेको चलचित्र ‘रोजी’को नाम परिवर्तन गरिएको छ । यो चलचित्र रोजीबाट रोज नामाकरण गरिएको छ । काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग चलचित्र रोजीको कथा र परिवेश मिलेको भन्दै पटक पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।

बिहिबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम् नानीमैया महर्जनबीच भएको बार्तामा आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित चलचित्रको कथा मिलेको मर्हजन परिवारले दाबी गरे । महर्जन परिवारले चलचित्र निर्माणको सुरु देखि नै यस्तो दाबी गर्दै यो नाम नराख्न दबाब दिँदै आएका थिए ।

दुई पक्षीय वार्तामा अब निर्माण पक्षले चलचित्रको नाम ‘रोजी’ नराख्ने, सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ । यस्तै महर्जन परिवारले पनि आगामी २२ भद्रमा प्रदर्शनमा आउने यो चलचित्रलाई कुनै पनि प्रकारको बाधा नपुर्याउने सम्झौता भएको छ । यसरी निर्माता पक्ष र महर्जन परिवारबीचको सम्झौतामा यो नाम रोजी नराखिने तय भएपछि यसको नाम परिवर्तन गरेर ‘रोज’ राखिएको हो । चलचित्रको नाम अब अङ्ग्रेजीमा ROSE हुनेछ ।

चलचित्रको नाम परिवर्तन गर्नुको कारणबारे निर्देशक पौडेलले भने, ‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संबेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ ।’

रोजी हत्या काण्डको बारेमा आफुलाई सुरुमा जानकारी नभएको र महर्जन परिवारले चलत्रिचको छायाँकनमा बाधा पार्न थालेपछि सो हत्याकाण्डबारे आफूले अध्ययन गरेको पनि निर्देशक पौडेलले खुलासा गरे । रोजी हत्याकाण्डको अध्ययनपछि धेरै कुरा फरक पाएकोले आफूहरुलाई नाम परिवर्तन गर्न गाह्रो नभएको पनि उनले प्रस्ट पारे ।
यो चलचित्रलाई महर्जन परिवारले चलचित्र विकास बोर्डमा उजुुरी दिएर सुरुमै छायाँकनमा अबरोध गरेको थियो । निर्देशक पौडेलले महर्जन परिवारलाई नाममा चित्त नबुझेमा पनि परिवर्तन गरिदिने बताएपछि अबरोध भएको छायाँकन सुचारु भएको थियो ।

गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो चलचित्रमा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार