काठमाडौं,
श्रावण २० ।
चलचित्र मिस्टर भर्जिनको टिम मोफसल टुरमा निस्केको छ । रिलिज मिती नजिकिँदै गर्दा चलचित्र टिमले आफ्नो प्रचारप्रसारलाई तीब्र पारेको हो । मोफसल टुर आइतबार पोखराबाट सुरु हुँदैछ । पोखरा स्थित मिड टाउन सिनेमा हल अगाडी ४ बजे कलकार सहितको साङगीतिक कार्यक्रम हुने चलचित्र टिमले जनाएको छ ।
टुरका क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने र मनोरञ्जनसहित चलचित्रका बारेमा जानकारी दिने योजना टिमको रहेको छ । टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा सहित अन्य गायक गायिका पनि सहभागी हुनेछन् ।
नेपालीहरुको लागि चलचित्रको कथा बस्तु निकै नौलो रहेकाले पनि जनमानससम्म यो कुरा पुर्याउनका लागि पनि यो टुर आवश्यक रहेको निर्देशक बिशारद बस्नेतले बताए ।
पोखरापछि २१ गते बुटवल र चितवन, २२ गते हेटौंडा र त्यस पश्चात क्रमशः धरान, बिर्तामोड, दमकपछी चलचित्र टिम काठमाडौं आइपुग्नेछ ।
वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । चलचित्र मिस्टर भर्जिन यही भाद्र १ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।






