भाले मोटरको कभर भिडियो प्रतियोगीता

काठमाडौं,
श्रावण १८ ।

चलचित्र निर्जलामा समाबेश ‘भाले मोटर…’ बोलको गीतको कभर भिडियो प्रतियोगीता घोषणा गरिएको छ । राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको निर्जलाको सो गीत मंगलबार राजधानीमा पत्रकार भेटघाट गरि प्रदर्शन गरिएको थियो ।

साइराम पिक्चर्सको युट्युवमार्फत बिहीबार दर्शकमाझ ल्याइएको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माले डान्स गरेका छन् । भाले मोटर सलिलसुन्दर तुलाधर र सवनम आचार्यले गाएका हुन् । बाबुल गिरीको शब्द र सङ्गीत रहेको गीतको कोरियोग्राफी क्रान्ति के.सी.ले गरेका छन् ।

असोज १९ गते प्रदर्शन हुने चलचित्रको सो गीतको कभर भिडियो भदौ दोस्रो सातासम्म साइराम पिक्चर्सको इमेलमा पठाउनु पर्ने प्राबधान राखीएको छ । निर्माता प्रकाशचन्द्रले प्राप्त भिडियोहरु मध्ये प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिएका छन् ।

कभर भिडियोका बिजेतलाई आफूले निर्माण गर्ने नयाँ चलचित्रमा उचित भूमिका पनि दिइने निर्माता प्रकाशचन्द्रले बताएका छन् । ब्यापारिक क्षेत्रमा आफ्नो बेग्लै स्थान बनाएका निर्माता प्रकाशचन्द्र निर्जलाबाट नेपाली चलचित्र क्षेत्रमा पनि जम्ने दाउमा छन् ।

गाउँले परिबेशको कथामा निर्माण गरिएको निर्जलामा किशार, शुभेच्छा, निकका साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अन्जली घिसिङ, प्रेम पौडेल र बालकलाकार काजल गिरीले अभिनय गरेका छन् ।

निर्देशक गिरीले आफूहरुले दशैँको अबसर पारेर दर्शकलाई उपहार स्वरुप निर्जला पस्किन लागेको बताएका छन् । कार्यक्रममा चलचित्रका सङ्गीतकार तथा गायक बाबुलले निर्जलाको शीर्ष गीत, दशैँ गीत र भाले मोटर पनि गाएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार