काठमाडौं,
श्रावण ६ ।
मनिषा रानाहँमा राईलाई जितासिंह शिक्षा पुरस्कार प्रदान गरिएको छ । राजधानीको कोटेश्वर स्थित किरात राई यायोक्खाको प्रेक्ष्यालयमा शनिवार एक कार्यक्रमको आयोजना गरि उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।

किरात राई रानाहँछा समाज काठमाडौंले विगत एक दशक अघिदेखि सरकारी विद्यालयबाट एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याई उतीर्ण हुने आफ्नो वंश भित्रका एक विद्यार्थीलाई पुरस्कृत गर्दै आइरहेको छ । यसै सन्दर्भमा यस वर्ष एसईईमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी मनिषा रानाहँमा राईलाई पुरस्कृत गरिएको हो ।

दशक अघि प्रदान गर्न शुरु गरिएको १५ हजार राशि सहितको यस पुरस्कारलाई वि.सं. २०७२मा संस्थाले आफ्ना पुर्खाको समानार्थ पुर्खाकै नामसँग जोडेर ‘जितासिंह शिक्षा पुरस्कार’ नामाकरण गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी न.पा.–९ लामाखु, खोटाङ निवासी श्री मेहन्द्र राई तथा श्रीमति सुशिला राईकी सुपुत्री मनिषाले श्री पञ्च माध्यमिक विद्यालय दिक्तेलबाट यो वर्षको एसईईमा ३.५६ जीपिए ल्याएर जिल्ला प्रथम हुन सफल भएकोमा बधाई दिँदै यस समाजले उनलाई पुरस्कृत गरेको हो । प्रमुख अतिथि तथा समाजका सल्लाहकार श्री जुक्तिमान राईको हातबाट ताम्रपत्र तथा संस्थाका अध्यक्ष श्री चन्द्रकुमार राईको हातबाट उनलाई नगद पुरस्कार प्रदान गरिएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार/समाजसेवी श्री जितेन्द्र राई, श्री ध्यानप्रसाद राई, श्री नवीना राई, श्री देवीभक्त राई, श्री वलराम राई, वरिष्ठ कवि श्री चन्द्र रानाहँछा, कवि श्री शुक्र राई, गायक श्री मेघराज राई, कवि श्री उदय राई, गीतकार श्री लक्ष्मी राई, श्री कल्पना राई तथा सञ्चरकर्मी भीम राईलगायतका वरिष्ठ व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।






