फ्रान्सले चुम्यो विश्वकपको उपाधि

काठमाडौं,
आषाढ ३२ ।

विश्वकपको उपाधि फ्रान्सले चुमेको छ । फ्रान्स दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित्न सफल भएको हो । फ्रान्सले आइतबार राती रुसमा भएको विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ ले पराजितगर्दै दोस्रो पटक विश्वकपको उपाधि उचालेको हो ।

यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको थियो । त्यसपछि सन् २००६ मा विश्वकप फाइनलमा पुगेको फ्रान्स उपविजेता बनेको थियो ।

क्रोएसियाभने विश्वकप फाइनलमा पहिलो पटक पुग्दा उपाधिबाट विमुख भएको छ । तर उपविजेता बनेपनि क्रोएसियाको दोस्रो स्थाननै ऐतिहासिक फड्को हो ।

यसअघि क्रोएसिया सन् १९९८ मा सेमिफाइनलसम्म पुगेपनि फ्रान्ससँगनै उसले पराजय व्यहोरेको थियो । क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजितहुँदा आत्मघाती गोल र एक पेनाल्टि गोल क्रोएसियाका लागि घातक बन्न पुग्यो ।

फ्रान्सले खेलको १८ औं मिनेटमा मारियो मान्जुकिजको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ३८ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले ह्याण्ड गर्दा फ्रान्सले पेनाल्टिको अवसर पाएको थियो ।

पेनाल्टिमा एन्टोनी ग्रीजम्यानले गोल गरेका थिए । त्यसअघि खेलको २८ औं मिनेटमा इभान पेरिसिचले डोमागोज भिडाको पासमा बराबरी गोल फर्काएका थिए । पहिलो हाफमै २–१ ले पछि परेको क्रोएसियाले दोस्रो हाफमा लगाता २ गोल खायो ।

खेलको ५९ औं मिनेटमा पल पोग्बाले ग्रीजम्यानको पासमा गोल गरेका थिएभने खेलको ६५ औं मिनेटमा केलियन एमबाप्पले काउन्टरमा लुकास हर्नान्डेजको पासमा आकर्षक गोल गरेका थिए ।

त्यसपछि क्रोएसियाले एक सान्त्वना गोल फर्कायो । फ्रान्सका गोलरक्षक हुगो लोरिसको गल्तीका कारण मारियो मान्जुकिजले गोल गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार