काठमाडौं,
आषाढ ३० ।
चलचित्र ‘झमक बहादुर’ को दुई पोस्टर सार्वजनिक गरिएको छ । साउन १८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘झमक बहादुर’ को पोस्टर सार्वजनिक गरिएको हो ।
पोस्टरले चलचित्र कमेडी प्रधान रहेको देखाउँछ । निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’ नितान्त नेपाली परिवेश सुहाउँदो चलचित्र रहेको बताएका छन् । केही समय अघि चलचित्र ‘झमक बहादुर’को ट्रेलर सार्वजनिक हुँदा दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को नक्कल गरिएको भनेर आलोचना भएको थियो ।

सुन तस्करी, लुटपाट र अपहरणलाई चलचित्रको मुख्य विषय बनाइएको भोमन कटुवालले बताए । अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रमा ओम सुनारको सङ्गीत रहेको छ ।
राजु किरात राईको द्वन्द्व रहेको चलचित्रलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् भने सहनिर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । चलचित्रलाई पवन गौतमले छायांकन गरेका हुन् ।






