काठमाडौं,
आषाढ २६ ।
चलचित्र ‘नाई नभन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । अगामी भदौ ८ गते यो चलचित्रको पाँचौ सिक्वेल देशभरका सिनेमा घरमा आउँदै ।
वन टाइम सिनेमाको ब्यानरमा तयार भएको यो चलचित्रमा निरुता सिंह, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र स्याड्रिना शर्मा, उत्तम केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
विकासराज आचार्यले निर्देशन गरेको यो चलचित्रमा बसन्त सापकोटाको सङ्गीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जी.सी.को सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ ।
हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको चलचित्रले यसपटक नायिका स्वस्तिमा खड्काको प्रेमकथा बोलेको छ । जसमा, स्वस्तिमाको बाल्यकालको भूमिकामा नवबालकलाकार स्याड्रिना शर्माले अभिनय गरेकी छिन् ।
सार्वजनिक ट्रेलरमा पारिवारिक कथा, प्रेम प्रसङ्ग, पीडा, व्यथालाई उठान गरिएको छ । निर्देशक विकास आचार्यले यो चलचित्रले ‘नाई नभन्नु ल २’को भन्दा बढी व्यापार गर्ने दाबी गरे । चलचित्रमा अनुभव र स्याड्रिनाको प्रेमलाई बढी महत्व दिइएको छ । नायिका प्रियंका कार्कीले विकासराज आचार्य आफ्नो परिवारकै मान्छे भएकाले पनि आफूले उहाँको चलचित्रमा काम गरेको बताइन् ।
बालकलाकार अनुभव रेग्मीले दर्शकले आफूलाई ‘नाई नभन्नु ल’को हरेक श्रृङ्खलामा झनै बढी माया गरेको बताए । लेखक सामिप्याराज तिमिल्सिनाले दर्शकले हरेक श्रृङ्खलालाई माया गरेको भन्दै ‘नाई नभन्नु ल ११’सम्म बनाउने आफूहरुको योजना रहेको सुनाए ।






