‘फूल झैं जीवन’ सार्वजनिक

काठमाडौं,
आषाढ २४ ।

गीतिसंग्रह ‘फूल झैं जीवन’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सङ्गीतकार सन्तोष श्रेष्ठ र गीतकार प्रेम प्रसाद राजभण्डारीको संयुक्त गीतिसङ्ग्रह ‘फूल झैं जीवन’ वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गजलकार डा. नेत्र एटम, गीतकार नेपालका महासचिव शुभ मुकारुङ, प्राज्ञ ज्योतिप्रकाश, सांसद सुजिता शाक्य, सांसद विष्णु शर्मालगायतले ‘फूल झैं जीवन’ लाई सार्वजनिक गरेका थिए ।

‘फूल झैं जीवन’ सार्वजनिक कार्यक्रमलाई स्वागत गर्दै सङ्गीतकार सन्तोष श्रेष्ठले प्रेमप्रसादसँगको पछिल्लो सहकार्यले गीतिसङ्ग्रह निर्माण हुन सफल भएको बताए । गीतकार राजभण्डारी प्रवास बसे पनि गीतसङ्गीत भने नेपालकै माटोसँग मिलेको बताउँदै श्रेष्ठले उनका सिर्जना सङ्गीत गर्दा पहिलोजस्तो नभएको बताए ।

फूलझैं जीवनको एल्बम समीक्षा गर्दै डा. नेत्र एटमले आफ्ना दुई विद्यार्थीले सिर्जना गरेको एल्बम विमोचन गर्न पाउँदा खुशी भएको बताए । उनले गीतकार प्रेमप्रसादको सिर्जना सुन्दा निकै नै गहिराईमा डुबेर लेखिएको पाएको बताए । त्यसैगरी सांसद सुजिता शाक्यले एल्बमको सफलताको शुभकामना दिँदै गीतसङ्गीतबिना मानिस निरस हुने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधानले सङ्गीतकार श्रेष्ठको सङ्गीतको प्रशंसा गर्दै सबैले गुनगुनाउन सक्ने गीत नै सफल हुने बताए । गीतकार शब्दअनुसार सबैलाई गुनगुनाउन सक्नेगरी गरिएको गीत सुन्दा आफू पहिलेकै अवस्थामा फर्केको जस्तो अनुभूति भएको गायक प्रधानले बताए ।

कार्यक्रममा गायक भविन ढुंगाना, गायक कृष्णभक्त राई र गायिका सहिमा श्रेष्ठले गायन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई समापन गर्दै गीतकार राजभण्डारीले आफूले प्रवासमा रहँदा धेरै कापीका पाना कोरेर सकेको बताउँदै एउटा गीत रेकर्डका लागि सङ्गीतकार सन्तोष श्रेष्ठलाई दिएपछि अब गीत लेख्न सक्छु भन्ने लागेको भन्ने अनुभव सुनाएका थिए । कार्यक्रम पत्रकार सुमन बैरागीले सञ्चालन गरेका थिए ।

फूलझैं जीवनभित्र ६ वटा गीत समावेश गरिएको छ । गोल्डेन क्रियशनले बजारमा ल्याएको उक्त एल्बमभित्र देखेको थिएँ, बृद्ध विहिन लुम्बिनीमा, पुन्य भयो, मायाप्रिति, विगुल फुक्ने, जवानीको रसरङ्गमा जस्ता गीत समावेश गरिएको छ । जसमा भविन ढुंगाना, रामकृष्ण ढकाल, कृष्णभक्त राई, मेलिना राई, मनोजराज, सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

सङ्गीतकार श्रेष्ठको यो २५ औं एकल सङ्गीत भएको एल्बम हो भने राजभण्डारीको पहिलो एल्बम हो । गीतकार राजभण्डारीले यो भन्दा पहिला प्रगतिशील साहित्यमा नेत्रलाल अभागी पुस्तक समेत प्रकाशनमा ल्याएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार