काठमाडौं,
आषाढ १९ ।
अष्ट्रेलियामा बसोबास गरिरहेकी गायिका स्वरुपा आशा आफ्नो नयाँ आधुनिक गीत ‘नहुने केही छैन…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ लिएर आएकी छिन् । गायिका आशाले वरिष्ट सङ्गीतकार रञ्जित गजमेरको सङ्गीत निर्देशनमा उक्त गीत गाउने मौका पाएकी हुन् ।
नेपाली चलचित्रका लोकप्रिय सङ्गीतकार रञ्जित गजमेर पनि गायिका स्वरुपा आशाको यही गीतमार्फत लामो समयपछि स्रोतामाझ आएका हुन् । मुम्बईमा रहेर सङ्गीत कर्ममा सक्रिय रहेका गमजेर खासगरी नेपाली चलचित्रका सिद्धहस्त सङ्गीतकार हुन् । उनले सङ्गीतबद्ध गरेका सम्झना, कुशुमे रुमाल, लाहुरे, साइनो आदि चलचित्रका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
कुशुम गजमेरको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिका स्वरुपा आशा आफैं प्रस्तुत भएकी छिन् । मौलिक नेपाली पहिरनमा सजिएर आकर्षक नृत्य गरेकी गायिकालाई बनेपा डान्स क्रिउले नृत्यमा साथ दिएका छन् ।
विदुर पाण्डेको छायांकनमा तयार पारिएको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । म्युजिक नेपालको यूट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।






