काठमाडौं,
आषाढ ११ ।
चलचित्र ‘बुलबुल’को घोषणा गरिएको छ । सोमबार राजधानीमा भएको एक कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो । जसमा स्वस्तिमा खड्का ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन् ।
अवेकन आइजको प्रोडक्सनमा बन्न लागेकोे चलचित्र ‘बुलबुल’मा टेम्पो चालकको बाहिरी भित्री दुवै यात्राको कथा रहने बताइएको छ । बिनौद पौडलेले निर्देशन गर्दैछन् चलचित्रलाई । अस्कर कलेजका प्रिन्सिपलसमेत रहेका पौडेलले यसअघि चलचित्र ‘साँघुरो’को कथा पटकथा लेखेका थिए । घोषणा कार्यक्रममा बोल्दै निर्देशक पौडेलले चलचित्रले एक खाले समाजको दैनिकीलाई दुरुस्त उतार्ने बताए ।
‘चलचित्रको घोषणा कार्यक्रममा चलचित्रका बारेमा बोल्नु अतिशयोक्ति जस्तो लाग्छ । चलचित्रले नै बोलोस् भन्ने लाग्छ । हामीले चलचित्र मार्फत समाजका एक वर्गको चित्र प्रस्तुत गर्ने जमर्को गरेका छौं, उनले थपे, ‘चलचित्र के कस्तो बन्छ त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो प्रयासमा इमान्दारिता देख्न पाउनु हुनेछ । अरु केही नभए पनि यो चलचित्रले एक्टरको जन्म गराउनेछ ।’
चलचित्रकोे मुख्य भूमिकामा देखिन लागेकी स्वस्तिमाले टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन प्रशिक्षण लिइरहेकी छिन् । उनले चलचित्र आफ्ना लागि विशेष रहेको भन्दै चलचित्र आफ्नो कारणले मात्र नभइ टिमकै कारण राम्रो हुने बताइन् ।
‘यो चलचित्रमा मलाई हेर्न भनेर पनि कोही आउनु होला तर यो चलचित्र स्टारको नभइ कलाकारको हो,’ उनले भनिन्, ‘अनि निर्माताले मलाई स्टार भएर चलचित्र चल्छ भनेर लिएको पनि होइन । स्टार नै लिन खोज्नु भएको भए बजारमा मभन्दा धेरै चलेका कलाकार हुनुहुन्छ ।’

निर्मातामध्येका एक अबिरल थापाले नेपाली चलचित्रकोे दृश्य भाषा र प्रस्तुतिलाई लिएर उठाइँदै आएका प्रश्नहरू मध्ये फिल्मले ५१ प्रतिशत प्रश्नको उत्तर दिने बताए ।
‘हामी नेपाली चलचित्रका हरेक आरोहअवरोहबाट परिचित छौं । यसले खेप्दै आएका आलोचना पनि पढ्दै आएका छौं । यो चलचित्र धेरै समीक्षकले उठाएका प्रश्न उत्तर हुने अपेक्षासहित बनाउने प्रयास रहनेछ ।
साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा कथा तथा पटकथा पनि बिनोद पौडेलकै रहेको छ । सुसन प्रजापतिको छायांकन रहने चलचित्रमा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेने जनाइएको छ । कोेशिश क्षेत्री र उदगम परियारको सङ्गीत रहेने चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहने छ ।






