काठमाडौं,
ज्येष्ठ १२ ।
चलचित्र ‘सुश्री सम्पति’ २२ भदौदेखि देशभरमा सिनेमाघरमा आउने भएको छ । रङपत्रकार सुव्रत आचार्यको निर्देशन रहेको दोस्रो चलचित्र ‘सुश्री सम्पति’ दर्शकमाझ आउने भएको हो ।
सिनेमाघरमा आउने मिति सार्वजनिक गर्दै निर्माण युनिटले चलचित्रको एक पोष्टर समेत बाहिर ल्याएको छ । पोष्टरमा चलचित्रका तीन पात्र सलोन बस्नेत सारा सिर्पाली र बिनोद न्यौपानेलाई राखिएको छ ।
चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा छन् ।
सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन छ ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैँले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।
चलचित्रलाई उपत्यकामा बीके फिल्मस्का गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।






