युगकवि जयन्तीमा बहुभाषी कवि गोष्ठी

काठमाडौं,
ज्येष्ठ १२ ।

युगकवि जयन्तीमा बहुभाषी कवि गोष्ठी भएको छ । प्रज्ञा भवनको प्रवचन कक्ष–१ मा नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा युगकवि सिद्धिचरण श्रेष्ठ १०७औँ जन्मजयन्तीको अवसरमा ‘बहुभाषिक कवि गोष्ठी’ भएको हो ।

गोष्ठीमा संस्कृत, नेपाली, मैथिली, भोजपुरी, नेवारी, अवधी, लिम्बू, मगर, मगर खाम, तामाङ, थकाली, चाम्लिङ, थारू, गुरुङ, बान्तवा, सुनुवार, डोटेली, थुलुङ र अंग्रेजीमा भाषाका २९ कविले कविता सुनाएका थिए ।

प्रा. मोहनप्रसाद लोहनी, कवि उषा शेरचन, विप्लव ढकाल, शशी लुमुम्बू, रामप्रसाद ज्ञवाली, धीरेन्द्र प्रेमर्षि, फूलमान वल, छम गुरुङ, देवी नेपाल, दुतेन्द्र चाम्लिङ, रामकृष्ण दुवाल, विजयध्वज थापा, मुक्तान थेबा, सुवाससंगम राई, नरेन्द्रबहादुर श्रेष्ठ, बिना थिङ, पदम राई, स्वप्नील स्मृति, हंसवती कुर्मी, गोपाल अश्क लगायतले युगकविलाई रचनामार्फत् संझिएका थिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुलता नेपाली समाजको विशेषता र पहिचान भएको उल्लेख गर्दै यस्तो धारणालाई युगकविले पहिल्यै मनन् गरी काव्य रचना गरेको बताए । उनले भने, ‘युगकविको सोही भावनालाई आत्मसात् गरेर नै यो कार्यक्रमको आयोजना गरिएको हो ।’

सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष एवम् प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले मुलुकको सर्वाङ्गीण विकासका लागि मातृभाषाका साहित्यको महत्वपूर्ण योगदान रहने विचार व्यक्त गर्दै मातृभाषाहरू नेपालका अमूल्य सम्पदा रहेको बताए ।

प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले युगकवि मातृभाषाप्रेमी भएकोले पनि यस कार्यक्रमले विशेष महत्व राख्ने धारणा राखे ।

कार्यक्रममा युगकविका छोरा रविचरण श्रेष्ठ र क्यानडाबाट आएका प्रा.डा. वासुदेव शर्माले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार