काठमाडौं,
ज्येष्ठ ९ ।
चलचित्र ‘ब्ल्याक’को सिनेमाघरमा आउने मिति सारिएको छ । ज्येष्ठ ११ लाई सिनेमाघरमा आउने मिति तय गरेको यो चलचित्र भदौ १ मा आउने भएको हो ।
केही प्राविधिक समस्याका कारण चलचित्र सारिएको निर्माण युनिटको भनाई रहेको छ । प्रदीप श्रेष्ठको निर्देशन रहेको चलचित्र प्रेमकथाको बिषयमा निर्माण भएको हो ।
आश्मा पाण्डे प्रस्तुतकर्ता रहेको चलचित्रमा आँचल शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । अघिल्लो पुस्ताका चलेका केही अनुहार सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल समेतको चलचित्रमा मुख्य भुमिका रहेको छ ।
मौनता श्रेष्ठको कथा, रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्न्द्व रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले बितरण जिम्मा लिएका छन् ।






