उपत्यकाका विभिन्न स्थानमा चौका दाउ

काठमाडौं,
ज्येष्ठ ४ ।

राजधानीका विभिन्न स्थानमा चलचित्र चौका दाउ छायाँकन भईरहेको छ । एक साता अघिबाट छायाँकन भइरहेको यो चलचित्र उपत्यकाका विभिन्न स्थानमा छायाँकन भइरहेको हो ।

अग्रज सङ्गीतकार एवम् नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा यो चलचित्रका परिकल्पना, कथा र सङ्गीत हुन् । यस अघि आठ ओटा चलचित्रमा कथा लेखिसकेका बासकोटाले चौका दाउ आफ्नो कथामा निर्माण हुन लागेको नवौं चलचित्र भएको बताएका छन् । जेठ महिनाभरी छायाँकन सम्पन्न गर्ने योजना रहेको उनले जनाए ।

सौर्य प्रोडक्सनका प्रस्तुति रहेको यो चलचित्रलाई मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरिरहेका छन् । चलचित्रमा अजस्र ढुँगाना र वर्षा राउत जोडी बनेर प्रस्तुत हुँदैछन् । चलचित्र ए मेरो हजुर २ मा सह अभिनेताको रुपमा काम गरेका अजस्रले चौका दाउबाट नायकको रुपमा डेब्यु गर्न लागेका हुन् ।

चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरिहेका छन् । चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुँगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देललगायतको अभिनय छ ।

चलचित्रमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण व्यबस्थापन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार