काठमाडौं,
वैशाख २८ ।
दीपकराज गिरी र दीपाश्री निरौलाको छक्कापञ्जा ३ को छायाँकन शुक्रबार देखि सुरु भएको छ । शुक्रवार, वैशाख २८ गते बिहान भक्तपुरस्थित सुर्यविनायकमन्दिरमा पुजाआजा गर्दै सोही ठाउँको वरपरबाट छायाँकन सुरु गरिएको हो । मुर्हतमा बरिष्ठकलाकार हरिवंश आचार्यले टिमलाई चलचित्र सफल होस् भन्दै आशिष दिए ।
छक्कापञ्जा ३ को छायाँकन राजधानी आसपास सहित चित्लाङ, दमैली र बाग्लुङमा गरिने निर्देशक दिपाश्री निरौलाले बताइन् । ४५ दिनमा सुटिङ सक्ने योजना बनाएका छौं, तेस्रो पटक निर्देशनमा उत्रिएकी दीपाश्रीले भनिन्, दर्शकले चुनौती थपिदिनु भएको छ ।
टिम मिलेर राम्रो चलचित्रबनाउने प्रयास गर्छौं । यता अभिनेता, लेखक तथा निर्माता दीपकराज गिरीले छक्कापञ्जा ३ मा नायिका दीपिका प्रसाईंको आगमन बारे प्रष्ट्याए । कथाले मागेपछि हाम्रो टिममा दीपिकाको आगमन भएकोहो, दीपकले भने, दर्शकले पनि छक्का पञ्जामा नयाँजोडी हेर्न चाहिरहनु भएको थियो ।
‘यो टिमसँग कामगर्न पाउँनु मेरो लागि ठुलो कुरा हो’, दीपिकाले भनिन्, म माथि विश्वास गरिदिनु भएकोमा दीपकदाई र दीपा दिदी प्रति आभारी छु । यस्तै मङ्गलममा दर्शक रुवाएका नायक पुष्प खड्काले छक्का पञ्जा ३ मा दर्शक हसाउँने बताए । दीपिकासँगै पुष्पको पनि छक्कापञ्जा ३ आगमन भएको हो ।
आमा सरस्वती मुभिज प्रा.लि. तथा आइएमईको प्रस्तुति रहेको चलचित्र छक्का पञ्जा ३ मा दीपकराज, दीपिकासँगै जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्प खड्का र प्रियंका कार्कीको अभिनय रहनेछ ।
जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरी भान्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्त मप्रधान, ताराचन्द्र बजगाई दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा छन् ।
चलचित्रमा अर्जुन पोखरेल र दीपक शर्माको सङ्गीत रहनेछ भने छायाँकन पुरुषोत्तम प्रधानले गर्नेछन् । छक्का पञ्जा ३ को कथा दीपकराज गिरीको हो । संवाद लेखनमा दीपकसँग जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठले सहकार्य गरेकाछन् ।






