प्रतिभाको खोजि गर्दै हैरान

काठमाडौं,
वैशाख १४ ।

चलचित्र ‘हैरान’ले प्रतिभाको खोजि गर्ने भएको छ । हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजि’ गर्ने भएको छ । नृत्य, अभिनय र गायन विधामा प्रतिभाको खोजि वैशाख २० गते झापाबाट अडिसन सुरु हुने भएको छ । प्रतिभालाई प्रोत्साहन गर्ने गरी देशको विभिन्न भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान शुरु गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

२० गते झापाको विर्तामोडवाट सुरु गरिने अडिसन २१ गते विराटनगर, २२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ, २७ गते पोखरा तथा २८ र २९ गते काठमाडौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।

तीनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् ।

छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गीतमा २र२ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ । प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् ।

आगामी जेठ ४ देखि देशभरका सिनेमा घरमा आउने तयारी गरेको चलचित्र ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । डेब्यु चलचित्र ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।

यिनै सौगात दोस्रो चलचित्र लिएर आएका छन् । अघिल्लो चलचित्रमा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मालगायतको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

चलचित्रमा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट, द्वन्द्वमा चन्द्र पन्त, सङ्गीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् ।

चलचित्रमा निरज कडेलको छायाँकन रहेको छ भने उनलाई नवराज उप्रेतीले एसिस्ट गरेका छन् । साथै यसमा अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।
यसमा सहभागिता जनाउन यो लिंक मार्फत पनि फारम भर्न सकिन्छ

यसमा तपाइको मत

अन्य समाचार