‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक

काठमाडौं,
वैशाख १४ ।

गत तीन वर्ष अघिको विनाशकारी भूकम्पले एक बालिकाको जीवनमा ल्याएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको चलचित्र ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारसँगै चलचित्रकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रका निर्देशक पवन केसीले चलचित्रले भूकम्प पछि एउटी गाउँकी युवतीले भोग्ने दर्दनाक कथालाई प्रस्तुत गरिएको बताए । ‘विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकको एउटा विकट गाउ तौथलीमा भुकम्पपीडित सन्ध्याको जीवनमा आएको उतारचढावलाई कथात्मक रुपमा हामीले प्रस्तुत गरेका छौं,’ निर्देशक केसीले भने, ‘भूकम्पमा आमाबाबु गुमाएपछि काकाकाकीको पालनपोषणमा रहेकी सन्ध्या प्रलोभनमा परेर काकाबाट कसरी बेचिन्छिन् भन्ने दर्दनाक कथालाई चलचित्रले देखाउनेछ ।’

चलचित्रका कार्यकारी निर्माता राजेश रिजालले भूकम्प पछिको क्रन्दनलाई चलचित्रमा देखाउन खोजिएको बताए । ‘भूकम्पकै कथाको फिल्म भएर हामीले भूकम्प गएकै दिनको सम्झनामा वैशाख १२ मै कार्यक्रम राखेका हौं ।’ निर्माता रिजालले भने ।

चलचित्रकी प्रमुख कलाकार मरक्युरी श्रेष्ठले चलचित्रमा काम गर्दा शुरुमा असजिलो लागे पनि पछि सहज भएको बताइन् ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, पूर्व अध्यक्षद्वय रमेश बुढाथोकी र रविन्द्र खड्काले चलचित्रले गहन विषय उठान गरेकाले दर्शकका लागि रुचीकर हुने बताए ।

चलचित्र फेस्टिभललाई लक्षित गरिएको चलचित्रमा निर्देशक केसीकै कथा, पटकथा, संवाद छ । फिल्ममा मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजता श्रेष्ठ, बैदार लामालगायतको अभिनय छ ।
राजेश रिजाल कार्यकारी निर्माता रहेको चलचित्रमा अशोककुमार बस्नेतको छायाँकन, राजेशकै गीत र सङ्गीत र सन्देश परियारको सम्पादन छ ।

https://www.youtube.com/watch?v=RvnDHory9qE

यसमा तपाइको मत

अन्य समाचार