तिमी साथ भएपछि सार्वजनिक

काठमाडौं,
चैत २३ ।

युवा गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको गजलसङ्ग्रह ‘तिमी साथ भएपछि’ बिहिबार काठमाडौंमा विमोचन गरिएको छ । सङ्गीतकार राजु सिंह, शक्ति वल्लभ, लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापासहितका व्यक्तित्वले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

अमेरिकामा बसोबास गर्दै आएका युवा गजलकार सुरेश वाग्ले गीत–गजलको क्षेत्रमा पुरानो नाम हो । डेढ दशकअघि नै गजलप्रति रुची भएका साथीहरुलाई भेला पारेर आफ्नै नेतृत्वमा ‘गजल गृह नेपाल’ स्थापना गर्ने गजलकार वाग्लेले आज गजलहरुको सङ्ग्रह नै सार्वज्निक गरेका हुन् । उक्त एल्बमको उत्पादन गजल गृह नेपालले नै गरेको हो ।

सार्वजनिक गजल एल्बम ‘तिमी साथ भएपछि’ मा दश वटा गजलहरु समावेश गरिएका छन् । गजलकार वाग्लेले झन्डै एक दशक अघिदेखि रचना गरेका गजलहरुलाई यो एल्बममा समावेश गरिएको छ ।

एल्बमका गजलहरुमा उदय सोताङ, मनिला सोताङ, शिव परियार, अञ्जु पन्त, मनोजराज, हरि लम्साल, टिका प्रसाईं, मदन गोपाल तथा बुद्ध लामा (नेपाल आइडल)को स्वरलाई समावेश गरिएको छ । हरि लम्साल, शिव परियार, मनोज राज तथा किरण श्रेष्ठले ती गजलहरुलाई सङ्गीतबद्ध गर्नु भएको छ । ती गजलहरुमा गोपाल रसाइली, किरण कँडेल, रिकेश गुरुङ, सचिन सिंह, रिदम कँडेल तथा पाकिस्तानी सङ्गीतकर्मी इमाद रहमानको सङ्गीत संयोजन छ ।

प्रस्तुत एल्बमका दश वटा गजल मध्ये तीन वटा गजल यूगल शैलीका छन् । उदय र मनिला सोताङको स्वरको ‘आँखाको यो नानी भित्रै’, मनोज राज र अञ्जु पन्तको ‘सम्झे पनि तिम्रो याद’ तथा ‘तिमी आयौ जिन्दगीमा’ यूगल शैलीका छन् ।

विमोचन समारोहमा एल्बममा समावेश गायक शिव परियारको स्वरको ‘फूलमा…’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरियो । शान थापाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन् । एल्बममा समावेश अन्य तीन वटा गजलका म्युजिक भिडियोहरु केही समयअघि यूट्युबमार्फत सार्वजनिक भइसकेका छन् ।

प्रशान्त रसाइलीको निर्देशनमा बनेको उदय र मनिलाको ‘आँखाको यो नानी भित्र’ गजलको म्युजिक भिडियोमा शिल्पा मास्के तथा पुष्कर कार्कीले अभिनय गरेका छन् । बुद्ध लामाको स्वरको ‘तिमी साथ भएपछि…’ गजलको अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन् । मनोज राज र अञ्जु पन्तको स्वरको ‘सम्झे पनि तिम्रो याद’ लाई निकेश खड्काले निर्देश्नन गरेका छन्, जसमा प्रियंका कार्की तथा अनिल थापाले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार