काठमाडौं,
चैत २१ ।
मुकेश राईकोे दोस्रो गीति एल्बम ‘मनोकांक्षा २’ दर्शक/स्रोतामाझ आएको छ । इलाम घर भई बेलायतमा बस्दै आएका गीतकार मुकेश राईको दोस्रो गीति एल्बम ‘मनोकांक्षा २’ सार्वजनिक भएको हो ।
सुशीला लाबुङ राई प्रस्तुतकर्ता रहेको एल्बमको बजार व्यवस्थापन स्टारलाइट इन्टरटेनमेन्टले गरेको छ । एल्बममा ‘मेरो प्यारो नेपाल’, ‘अनमोल मायाको’, ‘दुःखमा झर्ने’, ‘अनमोल मायाको’, ‘साथी तिमी मेरो’, ‘तिमी मेरो संसार’, ‘फिक्का–फिक्का भाको छ’ र ‘के कुरा बसन्तको’ बोलका गीत समेटिएका छन् ।
ताराप्रकाश लिम्बू र हरि लम्सालका सङ्गीतमा ताराप्रकाशसहित राजेशपायल राई र बानिका प्रधान, मेलिना राई, मिलन अमात्य, प्रमोद खरेल र अमृता लिम्बूले स्वर भरेका छन् । यो एल्बमको हालै ललितपुरमा एक कार्यक्रमबीच राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले विमोचन गरेका थिए । एल्बमका गीत जीवनवादी, आशावादी रहेको टिप्पणी कवि तथा गीतकार स्वप्नील स्मृतिले गरे ।
एसएलसीसम्मको अध्ययनपछि ब्रिटिस आर्मीमा भर्ती भएका गीतकार राईले सन् २००७ मा अवकाश पाएका थिए । सन् १९९० मेईमा भर्ती भएका उनले ब्रिटिस गोर्खा सेनाको क्विन्स ओन गोर्खा लजिस्टिक कोरमा १७ वर्ष काम गरेको ई मिडिया हबले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीकालदेखि साहित्यमा रुचि राख्दै आएका उनले सैनिक जीवनमा पनि त्यो रुचिलाई निरन्तरता दिएको बताए । यसअघि उनका ‘अनुभूतिका रङहरू’ कविता संग्रह २०६८, ‘मनोकांक्षा’ गीति एल्बम २०७० र ‘रङ जिन्दगीको’ गीति संग्रह २०७२ प्रकाशित छन् ।






