काठमाडौं,
चैत १८ ।
आगमी जेठ ४ गते देखि देशभकार सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘हैरान’ को शिर्ष गीतको छायाँकन सकिएको छ । राजधानी स्थित एनएफडिसीमा सेट लगाएर यसको छायाँकन गरिएको हो ।
गीतमा चलचित्रका सम्पूर्ण कलाकारलाई फिचर्ड गरिएको छ भने यसलाई छिटै सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ । चलचित्रको सम्पूर्ण काम सकिएता पनि गीत भने बाकी थियो ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मालगायतका सम्पूर्ण कलाकार देखिनेछन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको चलचित्रलाई कमेडी जनरमा तयार पारिएको छ ।
गीतमा शब्द र सङ्गीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य–स्वरूपले सरगम आचार्य र बबिता मनाधरसँग मिलेर गाएका छन् । गिरिश खतिवडाको र्याप रहेको यसलाई राजन इशानले एरेन्ज गरेका हुन् । डेब्यु चलचित्र ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।
यिनै सौगात दोस्रो चलचित्र लियर आउने तयारी गरिरहेका छन् । अघिल्लो चलचित्रमा बाबु छोरीबीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।
चलचित्रका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द्व चन्द्र पन्त, सङ्गीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्रमा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।
‘चलचित्रकोे टाइटल गीतमा हामीले सम्पूर्ण कलाकारलाई समेटेका छौ । पहिला यसलाई प्रमोसनको रुपमा मात्र प्रयोग गर्ने सोच पनि आएको थियो तर अब यो चलचित्रमा पनि समावेश हुनेछ । गीतमा हामीले सबै पात्रको टेन्सनलाई देखाउन खोजेका छौ । चलचित्र रमाइलो बनेको छ । गीतलाई पनि रमाइलो बनाउन सबैलाई एकै ठाउमा उभ्याएका छौ’, गजित विष्टले भने ।






