काठमाडौं,
चैत १८ ।
मुर्हुतदेखि नै चर्चामा रहेको चलचित्र नालापानीको यतिवेला छायाँकन भइरहेको छ । यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को राजधानीका विभिन्न स्थानहरुमा छायाँकन भईरहेको हो । शुक्रबार नारायणहिटी दरबार सङ्ग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा भव्य रुपमा छायाँकन भएको थियो ।
शुक्रबारको छायाँकनमा नेपालीसँग युद्द लड्न अङ्ग्रेज फौज आउँदै गरेको दृश्य थिए । नेपाल आर्मीबाट प्राप्त झण्डै पचास वटा घोडा र करिब तीनसय हतियार सहितका फौज मैदानमा उतारिएको थियो जसलाई भिएफएक्सको माध्यमबाट हजारौँको सङ्ख्या देखाईने निर्देशक रिमेश अधिकारीले बताए । उक्त दृश्य छायाँकनमा पाँच वटा क्यामेरा प्रयोग गरिएको थियो । भिएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायाँकनमा चलचित्रका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरिरहेका छन् ।
निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस्तो प्रकारले चलचित्र छायाँकन सम्भव नभएको बताए । ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती कृतज्ञ छौँ । सम्भवत नेपालमा कुनै पनि चलचित्र यस प्रकारले छायाँकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो’ । चलचित्रका निर्माता मनोज शाक्यले नेपालीको विर गाथासँग जोडिएको चलचित्रलाई नेपाल आर्मीले साथ दिएकोमा खुशी व्यक्त गरे ।
काठमाडौं र आसपासमा छायाँकन सकिएपछि चलचित्र यूनिट उपरदाङ गढी पुग्ने बताईएको छ । निर्देशक अधिकारीका अनुसार चलचित्रको छायाँकन करिव तीन महिनासम्म लगातार चल्नेछ ।
हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द नेपालले युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।
त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अङ्ग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।
कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्दमा प्रस्तुत गरेको वीरता तत्कालिन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाईँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अङ्ग्रेज फौजले चलाखी गरेर हराएको थियो । अङ्ग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडी हट्न बाध्य बनेको थियो ।
यसै बिषयमा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्रा. डा. धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित ‘नालापानी’ बनिरहेको छ ।
यो चलचित्रको बजेट झण्डै ९ करोड रहेको छ । ‘नालापानी’मा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, कशिस दाहाल, महाविर विश्वकर्मा, सुस्मा भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस चलचित्रमा मजोन शाक्य र नितिशा शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायाँकन गरिरहेका छन् ।






