काठमाडौं,
चैत १३ ।
सिनेमाघरमा पुगेर चलचित्र ‘शत्रु गते’ नेताहरुले हेरेका छन् । महसंचारले निर्माण गरेको चलचित्र ‘शत्रु गते’ हेर्न नेकपा एमालेका पूर्व अध्यक्ष तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल सिनेमाघरमा पुगेका हुन् ।
चलचित्र प्रदर्शनको चौथो दिन अर्थात सोमबार मध्यान्न उनी बागबजार स्थित सिटी म्याक्स हलमा पुगेका हुन् । चलचित्र हेर्न उनी सहित नेताहरु भीम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठ सिनेमाघरमा पुगेका थिए ।
खनाल सहित अन्य नेताहरु चलचित्र हेर्न हलमा पुगेको थाहा पाएपछि चलचित्रका कलाकार हरिवंश आचार्य, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौला र निर्देशक प्रदीप भट्टराई पनि राजधानीको सिटीम्याक्स हल पुगेका थिए ।
सोमबार नै चलचित्र ’राम कहानी’ युनिटले पनि चलचित्र हेरेका छन् । निर्देशक सुदर्शन थापा सहित कलाकारहरु आकाश श्रेष्ठ , केदार घिमिरे ‘माग्ने बुढा’ र पुजा शर्मा चलचित्र हेर्न पुगेका थिए ।
प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा दीपक दीपाको अलवा प्रियंका कार्की, शिवहरी पौडेल, महलगायतका कलाकारको अभिनय रहेको छ । दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । चलचित्र हरेपछि नेताहरुले चलचित्रको तारिफ गरेका थिए ।






